१ मंसिर, दार्चुला । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरुले जनतामा डर, धम्की र त्रास ल्याएको तर नेपाली कांग्रेसले जनतालाई यो देशका मालिक बनाएको दावी गरेका छन् । नेपाली कांग्रेस दार्चुलाद्वारा जिल्ला सदरमुकाम खलंगामा शुक्रबार आयोजित चुनावी आमसभामा देउवाले लोकतन्त्रमा नेपाली जनताले शान्तिको सास फेर्न पाइरहेको तर कम्युनिस्ट एकताले देशलाई अधिनायकवादतर्फ लैजाने खतरा बढेको बताए । “कम्युनिस्ट घुमाइफिराइ एकता गरेर जनतालाई धम्काउने, डराउने र त्रासमा राख्ने कोसिस गरिरहेका छन्” देउवाले भने । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको वामगठबन्धन लोकतन्त्र र प्रजातन्त्र विरोधी भएको आरोप समेत उनले लगाए।
विसं २००७ मा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गरेको कांग्रेसले नेपाली जनतालाई यो देशका मालिक बनाएको धारणा व्यक्त गर्दै उनले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नेपालको प्रजातान्त्रिक भविष्यका निम्ति अति महत्वपूर्ण खुट्किला भएको स्पष्ट गरे ।
दार्चुलाको विकासका लागि कांग्रेस सदैव तयार छ भन्दै सभापति देउवाले चुनावलगत्तै व्यास, अपी हिमाल, मार्मा र लेकम गाउँपालिकालाई पिछडिएको क्षेत्रमा राखेर स्थानीय तहलाई सहुलियत दिने आश्वासन दिए ।
देउवाले कञ्चनपुरको ब्रहमदेवदेखि दार्चुलाको तिंकरसम्म जोड्ने २९० किमीको महाकाली करिडोरलाई दुई वर्षभित्र पूरा गरिने र भारतसँग सिमानाका जोडिएको जिल्ला सदरमुकाम र जौलजीवीमा पक्की पुल बनाइने प्रतिबद्धता जनाए ।
सोही सभामा काँग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले जिल्लाका नौ स्थानीय तहमध्ये पाँच तहमा पार्टीले जित हासिल गरेकाले जिल्लामा कांग्रेसको जित सुनिश्चित भइसकेको जिकिर गरे । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकास कांग्रेसले जित्दा मात्रै हुने दावी गरे।
यस्तै प्रदेशसभा क्षेत्र नं कमा सदस्यका उम्मेदवार मदन गिरीले महाकाली करिडोर पूरा गर्ने आफ्नो मुख्य प्रतिबद्धता रहेको बताए । प्रदेशसभा समानुपातिक उम्मेदवार नन्दा बमले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन आह्वान गरे ।












