३० कात्तिक, स्याङ्जा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अव बन्ने सरकार अहिलेको जस्तो कमिसनखोर
र नाफाखोर नहुने वताएका छन् । स्याङजाको पुतलीवजारमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कम्युनिस्ट पार्टीको सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला कांग्रेसले चलाएको भन्दै पटकपटक बहुमत ल्याएर कांग्रेसले के गर्यो भनी प्रश्न गरे ।
‘पहिले कम्युनिस्टको सरकार आए बुढाबुढीलाई गोली हानेर ढाल्दिन्छ भन्ने हल्ला चलायो कांग्रेसले । अहिले बृद्धबृद्धाहरु मासिक ५ हजारको गोली खाइरहेका छन्’ ओलीले भने , ‘अव त्यो पुरानो कुरा भनेर जनताले पत्याउँदैनन्, कम्युनिस्ट सरकार बने अधिनायकवाद आउँछ भन्ने हल्ला चलाएर हिंडेका छन् ।’
ओलीले आफूहरुले अवको चुनावबाट कम्युनिस्ट पार्टीको सरकार बनाउनै खोजेको स्पष्ट पारे । ‘
‘अव मंसिरमा बन्ने सरकार अहिलेको जस्तो कमिशनखोर र नाफाखोर सरकार हुँदैन, त्यो जनताको सरकार हुन्छ’ ओलीले भन्नुभयो, ‘हामीले यहाँ पेट्रोलखानी पत्ता लगाएका छौं, पेट्रोल निकाल्छौं, फलामखानीबाट फलाम निकाल्छौं, रेल ल्याउँछौं, यहाँका उत्पादनलाई विदेशका वजारमा पुर्याउँछौं र समृद्ध हुन्छौं ।’
उनले एमाले र माओवादीबीच अहिले चुनावी तालमेल मात्र गरिएकाले फरक फरक चुनाव चिन्ह लिएर चुनावमा जानु परेको वताउँदै दुवै पार्टीका शुभचिन्तकले एउटै पार्टीको रुपमा मतदान गर्न आव्हान गरे ।












