३० कात्तिक, काठमाडौं । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार–प्रसारको क्रममा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी–केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज स्याङ्जा, बाग्लुङ र पर्वत जिल्लाका चुनावी सभालाई सम्बोधन गर्दैछन् । अध्यक्षद्वय ओली र दाहालले आज स्याङ्जाको पुतलीबजार तथा वालिङमा, बाग्लुङको गल्कोट र पर्वतको कुस्मामा आयोजित संयुक्त सभालाई सम्बोधन गर्ने क्रममा छन् ।
सत्ता र पदीय हैसियतको चरम दुरुपयोग गर्दै कांग्रेस उम्मेदवारले स्याङ्जामा मतदाता प्रभावित पार्न चक्रब्यूह रचेको र त्यसलाई तोड्नका लागि ओली र दाहालले वालिङ र पुतलीबजारमा आयोजित दुई चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम राखिएको एमालेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । दुवै नेताले मतदाताको मनोबल बढाउन सभालाई सम्बोधन गराउने सरकारी निकायबाट हुनसक्ने धाँधलीबारे पनि जनतालाई सचेत गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
अध्यक्षद्वय ओली र दाहालले हिजो गोरखा र लमजुङमा आयोजित पाँचवटा चुनावी सभालाई सम्वोधन गरेका थिए ।
यसैबीच काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, मोरङलगायतका जिल्लामा कांग्रेसले निर्वाचन आचारसंहिताविपरीतका चुनावी प्रचार–प्रसार सामग्री प्रयोग गरेको एमालेले दावी गरेको छ । काठमाडौं क्षेत्र नं १ र क्षेत्र नं ९ मा नेपाली कांग्रेसको तर्फबाट राखिएको प्रचार सामग्री आचारसंहिताविपरीत रहेको भन्दै यसलाई कडाइका साथ नियन्त्रण गर्न र आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने व्यवस्था मिलाउन सो दलले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ ।












