३० कात्तिक, काठमाडौं । बहुप्रतिक्षित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङ आइतबार छेडिने ब्रेक थ्रु हुने भएको छ । आयोजनाका अनुसार सुरुङ खन्न अब ९ मिटरमात्र बाँकी छ ।
सहयाक सुरुङसहितको लम्बाई १८.२ किलोमिटर भए पनि मुख्य सुरुङ साढे ८ किलोमिटर लामो हुने छ । अन्य सहायक सुरुङको काम भने पूरा भइसकेको र मुख्य सुरुङ मात्र छेडिन बाँकी छ । आइतबार बाँकी काम पूरा हुने आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए ।
आगामी मंसिर ४ गते सुरुङ पूरा गर्ने मिति तय भए पनि त्योभन्दा एक दिनअघि अर्थात मंसिर ३ गते ९आइतबार० नै काम सकिने भएको छ । समग्र आयोजनाको काम अहिलेसम्म करिब ९२ प्रतिशत पूरा भएको छ ।
अहिले खनेको सुरुङको सफाइ, प्लास्टरलगायतका काम भइरहेको छ । आयोजनाबाट २०७५ पुसमा विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
‘२०७५ पुससम्म चारै युनिट सञ्चालन गरेर विद्युत उत्पादन गर्ने तयारीका साथ काम भइरहेको छ,’ श्रेष्ठले भने, ‘अहिलेकै गतिमा काम भए तोकिएको समयमै विद्युत उत्पादन गर्न समस्या हुँदैन ।’
उत्पादित विद्युत विद्युतगृहदेखि ४७ किलोमिटरको दूरीमा निर्माण हुने २२०र१३२ केभी न्यू–खिम्ती सबस्टेसनमा जोडिनेछ । गोंगर–खिम्ती २२० केभी प्रसारण लाइनका १ सय २७ टावरमध्ये अधिकांशको जग निर्माण गर्ने काम पनि पूरा भएको आयोजनाले जनाएको छ ।
२०६७ भदौमा सुरु भएको निर्माण ५ वर्ष १० महिनामा पूरा गर्ने लक्ष्य थियो । तर, २०७२ बैशाखमा गएको विनाशकारी भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण आयोजनाको समय करिब दुई वर्ष लम्बिएको छ ।
समय लम्बिएसँगै यसको लागत पनि थपिएको छ । सुरुमा कूल लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । पछि लागत संशोधन गरी ४० अर्ब रुपैयाँ पुर्याइयो । भूकम्प, नाकाबन्दीको असर र अमेरिकी डलरमा आएको उतारचढावका कारण लागत करिब ६० अर्ब रुपैयाँ पुग्ने अनुमान छ ।
६० अर्ब रुपैयाँ पुगे पनि प्रतिमेगावाट लागतका हिसाबले आयोजना सस्तो हुनेछ । उक्त लागतमा तामाकोसीको प्रतिमेगावाट लागत करिब १३ करोड रुपैयाँ हुनेछ । अहिले निजी क्षेत्रले निर्माण गर्ने आयोजनाको लागत १८ करोडदेखि २० करोड रुपैयाँ पुग्ने गरेको छ ।














