३० कार्तिक काठमाडौ । सरकारले जारी गरेको नियमलाई बारम्बार बेवास्ता गरेका ठूला केबल अपरेटरको सेवा नै बन्द भएको छ । डिजिटल सेवा प्रदान गर्नुपर्ने समयसम्म पनि सो सेवा नदिएका केबल अपरेटरको एनालग टेलिभिजन सिग्नल धमाधम बन्द बन्द गराइएको हो ।
बुधबार करिब एक दर्जन कम्पनीका एनालग सिग्नल बन्द गराएको सरकारले विहीबार पनि यो क्रमलाई निरन्तरता दिइरहेको छ । पहिलो चरणमा काठमाडौंका मुख्य केवल टिभी सेवा प्रदायकहरुको अनुगमन गरेर एनालग टेलिभिजन सिग्नल बन्द गरिएको हो । जसअनुसार बुधबार एनालग प्रविधि जडान गरेका धेरै ग्राहकले घरमा टेलिभिजन हेर्न पाएनन् । बिहीबार पनि एनालग स्विच अफ नगरिएका केबल अपरेटरको अनुगमन गरी बन्द गरिने मन्त्रालय स्रोतले जनाकारी दिएको छ । बुधबार मन्त्रालयका उपसचिव तथा इन्जिनियर अनुप नेपालको नेतृत्वमा गएको अनुगमन टोलीले विभिन्न केबल टिभी सेवा प्रदायकको अवलोकन गर्दै एनालग सिग्नल प्रशारण स्वीच अफ गरेको थियो । सो टोलीले बुधवार ८ वटा केबल सेवा प्रदायकको स्थलगत अनुगमन गरेको थियो । टोलीले जाउलाखेल केबल, काठमाडौं केबल, टिपी लिंक केबल, सुविसु केबल, सिएनसी केबल, स्पेसटाइम केबल र स्काइ केबललगायतको अनुगमन गरेर एनालगको स्विच अफ गरेको थियो ।
अबदेखि डिजिटल बाहेक अन्य सेवा ग्राहकले नपाउने भन्दै डिजिटल सेवा लिन मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले काठमाडौ उपत्यकामा एनालग सिग्नल काटिरहेको टोलिले महानगरपछि उपमहानगर र नगरपालिकामा पनि सिग्नल काट्ने जनाएको छ ।
यसकारण काटियो एनालग सिग्नल
सूचना तथा सञ्चार मन्त्रालयले गत बैशाख १५ गतेदेखि नै काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रभित्र एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्न बाध्यकारी नीति अबलम्बन गरेको थियो । त्यतिबेलै सिग्नल काट्नुपर्ने भए पनि सरकारले कार्तिक २९ सम्म म्याद दिएको थियो । यो अवधिमा पनि अटेर गर्दै डिजिटलमा नजाने केबल अपरेटरको सेवा बन्द गरिएको हो । सरकार धमाधम एनालग प्रविधि बन्द गरेसँगै परम्परागत किसिमको न्युन गुणस्तरिय सेवा पाइरहेका ग्राहकहरूले अब डिजिटल सेवा पाउने भएका छन् ।












