३० कात्तिक, धनगढी । नजिकिँदो निर्वाचनसँगै हातहतियारको विगविगी बढ्दै गएको छ । दिनहुँजसो हतियारसहितका व्यक्ति विभिन्न स्थानबाट पक्राउ पर्ने क्रम जारी रहेको छ । विशेष गरी भारतसँग सीमा जोडिएका स्थानमा हतियार बोक्ने क्रम बढेको हो ।
धनगढी उपमहानगरपालिका–७ को धनगढी गाउँबाट गए राति प्रहरीले एकजनालाई नलकटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।
धनगढी वडा नं ८ क्याम्पस रोड बस्ने राकेश चौधरीलाई राति १० बजेको समयमा शंका लागी गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँच गर्दा निजको साथबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले बताए ।
उक्त पेस्तोल सीमापारिबाट ल्याइएको हुनसक्ने र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रवक्ता बुढामगरले बताए । लागुऔषधको कारोबारमा संलग्न रहेको भनिएका राकेश प्रहरीको खोजी सूचीमा रहेको जनाइएको छ ।












