३० कात्तिक, युएई । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स युएईको भ्रमणको उद्देश्यबारे बताएकी छन् । राष्ट्रपति भण्डारीको सम्मानमा युएईस्थित नेपाली दूतावासद्वारा बुधबार आयोजित रात्रिभोजमा बोल्दै उनले दुई मुलुकबीचको सम्बन्धलाई थप घनिष्ट बनाउने र दुई मुलुकका जनताको आर्थिक तथा सामाजिक सम्बन्धलाई अझै बलियो बनाउनमा आफ्नो भ्रमण केन्द्रित रहेको बताइन् । युएईमा कार्यरत नेपालीलाई मुलुक स्थायित्व तथा शान्तिपूर्ण अवस्थातर्फ गएको र मुलुकमै बसी काम गर्नसक्ने वातावरण बन्दै गएको विश्वास दिलाउनु पनि भ्रमणको उद्देश्य रहेको उनले बताइन् ।
राष्ट्रपतिले युएईमा दुई लाखभन्दा बढी नेपाली जनताले रोजगारी गरी नेपाल सरकार तथा नेपाली जनतालाई सहयोग गरिरहेकाले उनीहरु आफ्नै लगानी तथा खर्चमा नेपालका लागि सद्भावना तथा मानार्थ दूत भएको बताइन् । उनले नेपालीहरुको काम, कर्तव्य र व्यवहारले दुई मुलुकबीचको सम्बन्धलाई अझै बलियो बनाउनसक्ने र यहाँ सिकेको सिप तथा पूँजी नेपालमै उपयोग गरी अझै बढी योगदान दिन सकिनेमा पनि जोड दिइन् ।
युएईमा कार्यरत एक नेपाली कामदार अमरबहादुर बमले भुलचुकमै गल्ती गरेपनि त्यो गल्ती सच्याउनै नसकिने गल्ती नभएको र लामो समयसम्म कारागारमा बसिसकेको अवस्थामा उहाँलाई माफी दिन र रिहा गरिदिन आफूले यस भ्रमणका समयमा अबुधावीका युवराज तथा उपराष्ट्रप्रमुख, प्रधानमन्त्री तथा दुबईका शासकसँगको भेटवार्तामा आग्रह गरेको समेत बताइन् । उनले दुई मुलुकबीच श्रम सम्झौता भइसकेको उल्लेख गर्दै घरेलु मजदुरका समस्यालाई पनि समाधान गर्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले यस मुलुकमा नेपालका राष्ट्रपतिको रुपमा आफूले पहिलो भ्रमण गरेको बताउँदै नेपाली समुदायले पटकपटक उठाएका समस्या तथा नेपाल सरकारले पनि महसुस गरेका समस्याका विषयमा उच्चतहसँग छलफल भएको बताउँदै यो भ्रमण सफल तथा फलदायी भएको आफूले महसुस गरेको बताइन्।
बुर्ज खलिफाको १५२ तलाबाट अवलोकन
यसैबीच भण्डारीले बुधबार दुबईस्थित बुर्ज खलिफाको समेत अवलोकन गरिन् । भण्डारीले बुर्ज खलिफा भवनको १५२ औँ तलास्थित स्वागत कक्षमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेकी थिइन् ।
भण्डारी बुर्ज खलिफा पुग्दा उक्त भवनस्थित अरमानी होटेल एन्ड रिसोर्टका शिष्टाचार अधिकारीहरुले स्वागत गरेका थिए ।
दुवई वाटर क्यानलको अवलोकन
त्यस्तै राष्ट्रपति भण्डारीले बुधबार नै दुबई वाटर क्यानलको अवलोकन गरेकी थिइन्। मानव निर्मित उक्त दुबई वाटर क्यानल अर्थात् नहर सन् २०१३ मा खुला गरिएको तथा सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको थियो । यो नहर दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्दछ । उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् ।
यस क्यानलको चौडाइ ८० देखि १२० मिटरसम्मको छ र यो छ मिटर गहिराइको छ । आठ मिटर अग्लो पुल भएर बग्ने गरी यस क्यानलको संरचना तयार गरिएको छ । यस क्यानलले करिब ८० हजार वर्गमिटर क्षेत्र ओगटेको छ र यसले निजी जहाज तथा डुंगालाई व्यवसाय दिएको छ ।
राष्ट्रपति भण्डारी बुधबारै दुबईबाट सडकमार्गबाटै अबुधावी फर्केकी थिइन् ।














