२८ कात्तिक, नेपालगञ्ज । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वामगठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताएका छन् ।
नेपाली कांग्रेस, बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उनले भने, “कांग्रेसले सधैं तानाशाहलाई परास्त गरेको र यो निर्वाचनमा पनि कांग्रेस नै विजयी हुने निश्चित छ ।”
सभापति देउवाले भने, “नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिस्था व्यवस्था उनीहरुले स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिनेछ । ”
आप्mना आन्तरिक सबैखाले तीक्ततालाई बिर्सेर निर्वाचनमा एकजुट भई जनताको समर्थनमा वाम गठबन्धनलाई परास्त गर्नु नै अहिलेको पहिलो आवश्यकता हो, यसतर्फ काँग्रेसका कार्यकर्तालाई लाग्न उनले निर्देशन दिए ।
सहभागी कार्यकर्ताबाट टिकट वितरणमा मूल्याङ्कनलाई आधार नबनाएर आफ्ना नजिककालाई टिकट दिइएको कुरा उठाएपछि सभापति देउवाले भने एकजनालाई दियो, अर्को रिसाउँछ ।केही गल्ती भएको भए पार्टीले त्यसको समीक्षा गर्ने आश्वासन उनले दिए।
काँग्रेस जिल्ला सभापति किरण कोइरालाको अध्यक्षतामा भएको सो भेटघाट कार्यक्रममा सहभागी कार्यकर्ताले दिन प्रतिदिन धरमराउँदै गएको पार्टी संगठनलाई जीवन्त बनाउन व्यवस्थापन पक्षलाई चुस्त बनाउनुपर्ने सुझाव दिएका थिए ।












