२७ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र विप्लव समूहको साँठगाँठमा माओवादी केन्द्रका उम्मेदवारमाथि आक्रमण भएको आरोप लगाएका छन् । समृद्धितर्फ लैजान लाग्ने बताएका छन् । हतियारसहित पक्राउ परेका विप्लव कार्यकर्ता छोड्न वहालवाला कांग्रेसका मन्त्रीले विज्ञप्ति जारी गरेको भन्दै उनले भने “तिमीहरु आतङ्क मच्चाओ. हामी चुनावको प्रचारमा जान्छौं भनेर विप्लव र कांग्रेसबीच तालमेल भएको तल्लो तहबाट रिपोर्ट आएको छ ।”
भरतपुर महानगरपालिका वडा नं. १४ स्थित उनको निवासमा संवाददाताहरुसँगको कुराकानीमा प्रचण्डले कांग्रेस र विप्लव समूह मिलेर माओवादी केन्द्रमाथि आक्रमण गरिरहेको बताएका हुन् ।
पछिल्लो समय रोल्पा र रुकुममा माओवादी केन्द्रका उम्मेदवारहरुमाथि भएका आक्रमणका सन्दर्भमा उनले यसमा विप्लव समूह र नेपाली कांग्रेसका नेताको साठगाँठ देखिएको बताए । विप्लव समूहका ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेपछि विक्षिप्त भएर सो समूह आक्रमणमा उत्रिएको भन्दै उनले यस्तो समूहसँग कांग्रेस मिल्नु दुर्भाग्यपूर्ण भएको धारणा व्यक्त गरे । उनले अगाडि थपे “लोकतन्त्रवादी भन्ने कांग्रेसले कम्युनिष्टको तालमेललाई एकातिर अधिनायकवादी भन्ने आफूलाई चाहिं अपराधिक गतिविधि गर्नेहरुसँग साथ लिएर जान सुहाउँदैन ।” प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश प्रवाह गर्न आग्रह गर्दै उनले भने “यसलाई नियन्त्रण गर्नुहोस्, यसले कांग्रेसको पनि हित हुँदैन ।”
विप्लव समूहलाई आग्रह गर्दै प्रचण्डले भने “कि त जनयुद्ध शुरु भयो भनेर घोषणा गरेर आउनुहोस्, त्यो राजनीतिक विषय हुन्छ ।”
आफ्नो दलको बटमलाईनका बारेमा कुरा गर्दै उनले अनुकूल समयमा प्रचण्डपथलाई छलफल गर्ने बताए । कार्यकारी प्रमुखको पक्षमा रहेको आफ्नो दलको एजेण्डा वामगठबन्धनले दुईतिहाई बहुमत ल्याएपछि संसदमा लगेर निर्णय गर्ने उनले बताए ।












