२८ कात्तिक, आवुधावी । राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एवम् युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज मंगलबार ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता सम्पन्न भएको छ ।
सो अवसरमा दुई मुलुक बीचका आपसी हितका समग्र पक्षका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए । नेपालको पूर्वधार, पर्यटन, कृषि, जलस्रोतको विकास र सोका लागि लगानी भित्र्याउने विषयमा छलफल भएको पनि उनले ।
छलफलमा राष्ट्रपति भण्डारीले नेपाली श्रमिकले आफ्नो रोजगारीबाट आफ्नो परिवारका साथै समाजलाई पनि फाइदा पुर्याएको उल्लेख गर्दै हिमालयका पानीको प्रयोग, पूर्वाधार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा दुई मुलुकबीच स्थापित संयन्त्रलाई अझ थप सक्रिय तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको सचिव वैरागीले जानकारी दिए ।
युवराज अल नेह्यानले नेपाली श्रमिक इमान्दार र कर्तव्यनिष्ट भएको भनि प्रशंसा गरेका थिए ।
यसअघि राष्ट्रपति भण्डारी क्राउन प्रिन्स कोर्टमा पुग्नुहुँदा उहाँलाई युवराज अल नेह्यानले स्वागत गर्नुभएको थियो ।
छलफलमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी पनि उपस्थित थिए ।













