२८ कात्तिक, खोटाङ । दिनभर नेपाली काँग्रेसका उम्मेदवारलाई भोट मागेका राप्रपा खोटाङका जिल्ला सदस्य भोलिपल्ट मृतअवस्थामा भेटिएका छन् । आइतबार दिनभर भोट मागेर साँझ घर फर्किएका केशरमान विश्वकर्मा सोमबार विहान मृत अवस्थामा भेटिएका थिए । विश्वकर्माको शव भिरबाट लडेको अवस्थामा भेटिएको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ काँग्रेस उम्मेदवारलाई सघाउने पार्टीले निर्णय गरेपछि भोट माग्न गएका विश्वकर्माको राति भिरबाट लडेर मृत्यु भएको बताइएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी घर भएका ४९ वर्षीय विश्वकर्मा आइतबार काँग्रेसको टोलीसँग गाउँमा भोट माग्न गएका थिए । गाउँमा भोट मागेर राति घर फर्किएका उनको स्थानीय साल्लेभिरबाट लडेर मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।
घरबाट बिहान सबेरै हिँडेका उनी रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला परेको मृतकका आफन्तले बताएका छन् । शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ ।
मृत्युको बारेमा अनुसन्धान गर्न टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
भिरबाट करिब २० मिटर तल मृतवस्थामा भेटिएका उनी लामो समयदेखि राप्रपाका क्रियाशील कार्यकर्ता रहेको जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताए ।













