२७ कात्तिक, गौशाला । महोत्तरीको जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गए राति सोही वडाकी दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा भेटिएपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले राससलाई जानकारी दिएको छ ।
गए राति साढे १० बजेतिर जलेश्वर–८ स्थित दलित महिला वडा सदस्यको घरमा वडाध्यक्ष सिंह र दलित महिला वडा सदस्य दुवैलाई आपत्तिजनक अवस्थामा महिलाका देवर, ससुरा र जेठाजुले देखेपछि बाहिरबाटै दुवै जनालाई घरमा थुनेर गाउँलेलाई बोलाएर दुवैलाई रंगेहात पक्राउ गरिएको प्रहरी उपरीक्षक कुबेर कडायतले बताए ।
ती महिलाका घरका सदस्यहरु तथा गाउँलेले अध्यक्ष सिंह र दलित महिलालाई पक्राउ गरी प्रहरी बोलाएर गए राति ११ बजे दुवै जनालाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले दुवैलाई गए राति नै मेडिकल जाँच गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
वडाअध्यक्ष र वडासदस्य दुवै एमालेबाट निर्वाचित
सिंह तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए ।
करिब नौ महिनाअघि वैदेशिक रोजगारीका क्रममा पतिको मृत्यु भएकी ती दलित महिला सदस्य गत असोज २ गते भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा दलित महिला वडा सदस्यमा नेकपा एमालेबाट विजयी भएकी थिइन् । पति गुमाएर विधवा रहेकी दलित महिला वडा सदस्य गए राति आफ्ना चार बालबालिकासँग सुतिरहेको बेला वडाध्यक्ष सिंह उनको घरमा पसेको र उनीसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोप महिलाका परिवारका अन्य सदस्य तथा गाउँलेले लगाएका छन् ।












