२७ कात्तिक, विराटनगर । प्रतिनिधि सभा निर्वाचनमा मोरङ ६ का दुई प्रतिश्पर्धीबीच कडा टक्कर देखिएको छ । यस क्षेत्रमा वाम गठबन्धनबाट चर्चित नेता लालबाबु पण्डित र कांग्रेसबाट कोइराला परिवारका चर्चित नेता शेखर कोइराला प्रतिश्पर्धामा छन् । । स्थानीय चुनावको मतपरिणामका आधारमा हेर्दा सामान्य वहुमतले कांग्रेसले जित्न सक्ने अनुमान गरिएको छ । त्यसो त कोइराला परिवारको पकड रहेको मोरङमा कांग्रेसको पल्ला भारी भएको विश्लेषण गरिन्छ । त्यसमाथि पनि कांग्रेसभित्रका एक प्रभावशाली नेताका रुपमा शेखर कोइरालाको नाम चर्चित छ ।
यति हुँदाहुँदै पनि वामगठबन्धनको सरकार बन्न सक्ने सम्भावना बढी देखिएकोले मतदाताको आकर्षण वामगठबन्धतिर बढेको देखिएको छ । त्यसमा पनि मन्त्री हुँदाका बखत लोकप्रिय काम गरेका र व्यक्तिगतरुपमा धनआर्जन गर्नतिर नलागेका एमाले नेता लालबाबु पण्डितको क्रेज त्यति नै बढी छ । भ्रष्ट्राचार नगर्ने र उनले जित जनताको काम गर्ने विश्वास मतदातामा देखिएको छ । तर निर्वाचन इमानदारितामा मात्र केन्द्रित नरहेको र पैसाको चलखेल पनि जारी रहेकोले परिणाम यसै हुन्छ भन्ने अवस्था देखिएको छैन ।
मोरङ ६ को निर्वाचन सबैको चासोको विषय किन बनेको छ भने दुई प्रमुख शक्तिका उम्मेदवार नेपाली राजनीतिमा आफ्नो छवि बनाइसकेका लोकप्रिय नेताहरु रहेका छन् । कांग्रेस संस्थापक नेता बिपीका भाइका छोरा शेखरलाई कोइराला परिवारकै छविले सहज बनाएको छ भने सामान्य प्रशासन मन्त्री भएका बेला डिभी र पीआर लिएका कर्मचारीलाई कारवाही गरेवापत पण्डितले प्रशंसाको पात्र बनेका छन् । शेखरका लागि कोइराला परिवारको राजनीतिले साथ दिएको छ भने लालबाबुलाई वामगठबन्धनबीच भएको एकताले बल पुर्याएको छ । त्यसमा पनि मधेसी समुदायको मत पण्डितले आकर्षित गर्ने विश्लेषण गरिएको छ ।
रोचक कुरा त के छ भने कोइराला र पण्डितबीच औपचारिक परिचय छैन । कांग्रेस नेता कोइरालाले आफूले प्रतिस्पर्धीलाई नचिनेको बताउने गरेका छन् । ‘प्रतिस्पर्धी को हुन् भन्ने म चिन्दिनँ,’ उनले भने, ‘म कहिलै पनि प्रतिस्पर्धीलाई कमजोर ठान्दिनँ ।’ वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार पण्डितले पनि कोइरालासँग राम्रो चिनजान नभएको बताए । ‘व्यक्तिगत चिनजान छैन,’ उनले भने, ‘टाढैबाट चिन्दछु ।’
दुवै उम्मेदवारले एकअर्काप्रति गरेको यो कटाक्षले पनि उनीहरु एकअर्काप्रति कति डराइरहेका छन् भन्ने पुष्टि गर्दछ ।
विराटनगरस्थित कोइराला निवासमा बसेर शेखरले आफ्नो निर्वाचन अभियान सञ्चालन गरेका छन् । एमाले उम्मेदवार पण्डितले विद्यार्थी संगठनको कार्यालयबाट चुनावी प्रचारप्रसार तीव्र पारेका छन् ।












