२६ कात्तिक, मंगलबारे इलाम । गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा सहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ ।
नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा सहर बनाउने उद्घोष गरेको छ ।
प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिए।
कार्यक्रमअन्तर्गत मेची राजमार्गबाट इलामबजार छुट्टिने जिरो पोइन्ट, तिल्केनीमोड, सिंहवाहिनीमोडमा रहेका फोहरलाई व्यवस्थापन गरिएको समाजका किशोर श्रेष्ठले बताए । आगामी दिनमा इलाम सदरमुकामका हरेक क्षेत्रमा समाज पुगेर त्यहाँका स्थानीयवासीसँगै हातेमालो गरी अभियानलाई निरन्तरता दिइने समाजले लक्ष्य राखेको छ ।














