२४ कात्तिक, अर्घाखाँची । बारम्बार मन्त्री बनेर अकुत सम्पत्ति कमाएका नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले निर्वाचनका वेला आफ्नो जिल्लाका सबै युवालाई रोजगारी दिने आश्वासन दिएका छन् । अर्घाखाँचीबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका रायमाझीले जिल्ला छाडेर विदेश गएका अर्घाखाँचीका ५० हजार युवालाई स्वदेश फर्काउन पूर्वाधार तयार गरिने गरिने आश्वासन शुक्रबार जिल्लामा दिएका हुन् ।
उनले त्यतिमात्र आश्वासन दिएनन् समस्या रहेका सबै पक्षको समाधान गर्ने गरी विकास गर्ने बताए । उनले सालझण्डी–सन्धिखर्क–ढोरपाटन, रिडी–सुर्खेत तथा चाक्ला जुकेना–प्युठानसहित सात केन्द्रीयस्तरका सडक कालोपत्रे गर्ने, जिल्लाका पर्यटकीय दृष्टिले महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक संरचनाको विकासका लागि आवश्यक पूर्वाधार तयार गर्ने कार्यक्रम राखिएको संचारकर्मीलाई बताए।
गाउँगाउँलाई उज्यालो बनाउन प्रसारण लाइनको स्तरोन्नति गर्ने तथा राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा सौर्य ऊर्जा पु¥याउने उनको आश्वासन थियो। हालसम्म अर्घाखाँचीमा चुनढुङ्गाबाहेक अरु उद्योग नभएकाले बिजुली, पानी तथा रोजगारीमूलक उद्योगधन्दा सञ्चालन गर्ने योजना नेकपा माओवादी केन्द्रले राखेको समेत बताए ।












