२४ कात्तिक, डडेल्धुरा । वि. सं. २०४८ देखि डडेल्धुराबाट निरन्तर निर्वाचित हुँदै आएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आसन्न निर्वाचनमा भने सकस देखिएको छ । वाम गठबन्धनका कारण प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट देउवाले चुनाव जित्न मुस्किल देखिएको छ । स्थानीय निर्वाचनमा देउवाको आफ्नै गाउँमा कांग्रेस पराजित बनेको थियो । डडेल्धुरामा देउवा र कांग्रेसप्रति नकारात्मक धारणा विकास हुँदै जानु र अर्कोतिर वामगठबन्धनको बलियो उपस्थिति हुनुले देउवालाई चुनौति थपिएको हो ।
विगतमा भन्दा अहिले राजनीतिक ध्रुवीकरण बदलिएकाले यो प्रश्न उठेको हो । दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन गरेकाले देउवाका लागि परिस्थिति पेचिलो बन्दै गएको छ ।
देउवा अहिले बलियो वाम गठबन्धनसंग प्रतिस्पर्धामा छन् । त्यसैले त डडेलधुराको निर्वाचन सबैतिर चर्चा र चासोको विषय बनेको छ । विगतमा डडेल्धुराबाट चुनाव जितेर देउवाले आफ्नो राजनीतिक जीवनमा ठूलो फड्को मार्दै आएका छन् । यहीबाट निर्वाचित भएरै उनी गृहमन्त्री हुँदै चारपटक प्रधानमन्त्रीसमेत भइसकेका छन् ।












