२३ कात्तिक, काठमाडौं । मंसिर १० गते निर्वाचन हुने सबै जिल्लाहरुमा हेलिकोप्टर प्रयोग गरी निर्वाचन सामग्री पठाइएको छ । तत्काल निर्वाचन सामग्री पुर्याउन कठिन हुने दुर्गम जिल्लाहरुमा निर्वाचन आयोगले सेनाको हेलिकोप्टरमार्फत मतपत्रलगायतका सामग्री पुर्याएको छ ।
डोल्पा तथा खोटाङमा हेलिकोप्टरमार्फत निर्वाचन सामग्री विहीबार पुर्याइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपेटिका, मतपत्र, निर्वाचन शिक्षालगायतका निर्वाचन सामग्री जिल्लामा पुगिसकेको मुख्य निर्वाचन अधिकारीका कार्यालयहरुले जनाएका छन्

निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र मर्यादित वनाउन, म्यादी प्रहरी, सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाली सेना सबै मतदान केन्द्रमा खटाउने तयारी भइरहेको छ ।
आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री आज नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।
हेलिकोप्टरमार्फत मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री ढुवानी गरिएको हो ।
एक लाख २५ हजार १८३ मतदाता रहेको डोल्पामा निर्वाचन सामग्री ल्याइएसँगै निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दिनेश खत्रीले जानकारी दिए।
जिल्लाहरुमा सुरक्षा समितिको बैठकमार्फत भौगोलिक अवस्था, सुरक्षा चुनौती, निर्वाचन केन्द्रमा हुनसक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, विगतका चुनावमा भएका घटना लगायतका आधारमा मतदानस्थललाई अति संवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन् ।












