२३ कात्तिक, गौशाला । प्रतिनिधिसभा निर्वाचनका लागि चारवटा निर्वाचन क्षेत्र कायम गरिएको महोत्तरी जिल्लामा मंसिर २१ गते हुने चुनावमा अप्रत्यासित परिणाम आउने अनुमान विश्लेषकहरुले गरेका छन् ।
ठूलैरुपमा पैसाको खेल र जातीय समिकरणका कारण महोत्तरीका चारवटै निर्वाचन क्षेत्रमा रोचक प्रतिश्पर्धा हुने र त्यसबाट अप्रत्यासित परिणाम आउने विश्लेषकको दावी रहेको छ ।
मधेश आन्दोलनको परिणामस्वरुप जन्मिएको राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य शरतसिंह भण्डारी गरी दुईजना सदस्य महोत्तरीबाटै प्रतिनिधिसभा चुनाव लडेका कारण यसपालि महोत्तरीको चुनाव निक्कै रोचक हुने र परिणाम पनि अप्रत्यासित आउने विश्लेषकको ठम्याइ रहेको छ ।
महोत्तरीको राजमार्ग र उत्तरी क्षेत्रको भूभाग समेटिएको निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं बहालवाला मन्त्री गिरिराजमणि पोखरेल उम्मेदवार छन् ।
उनी महोत्तरीको बर्दिवासमा पूर्वाधार विकास, विभिन्न सरकारी कार्यालय स्थापना गरेका कारण त्यस क्षेत्रमा निक्कै लोकप्रिय छन् भने यसअघि संविधान सभाका पहिलो र दोस्रो निर्वाचनमा त्यस क्षेत्रबाट विजयीसमेत बनिसकेका छन्।
उनको प्रतिश्पर्धामा सोही क्षेत्रमा दोस्रो संविधान सभाका निर्वाचनका बेला क्षेत्र नम्बर ६ बाट निर्वाचित बनेका नेपाली काँग्रेसका नेता सीताराम भण्डारी पुनः नेपाली काँग्रेसका उम्मेदवार बनेका छन् । उनी मिलनसार नेताको रुपमा चिनिन्छन् ।
त्यसैगरी, राजपा– संघीय फोरम गठबन्धनका तर्फबाट फोरमका लक्ष्मी महतो कोइरी उम्मेदवार बनेका छन् । कोइरी जातिको विशेष बसोबास रहेको त्यस क्षेत्रमा दुई नेपाली भाषी उम्मेदवारको मत बाँडिएको खण्डमा उनको अवस्था बलियो हुने विश्लेषक बताउँछन् । लक्ष्मी महतो पूर्व गाविस अध्यक्ष हुन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी र नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद किरण यादवबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको छ ।
यादव बाहुल्यता रहेको सो क्षेत्रमा यसअघि पनि किरण यादवले संविधान सभाको चुनावमा निर्वाचित भएका थिए भने राजपा–फोरम गठबन्धनका साझा उम्मेदवार भण्डारीको स्थिति पनि निक्कै बलियो रहेका कारण दुवैबीच सोझो प्रतिश्पर्धा हुने विश्लेषक बताउँछन् ।
त्यसैगरी, महोत्तरीको सदरमुकामसहितका क्षेत्र नम्बर ३ मा राजपा नेपालका संयोजक महन्थ ठाकुर र उनकै बागी उम्मेदवार पूर्वस्वतन्त्र सांसद चन्देश्वर झाबीच मुख्य प्रतिश्पर्धा हुने देखिएको छ ।
ब्राह्मण, भूमिहार बाहुल्य रहेको यस क्षेत्रमा नेपाली काँग्रेसका भूमिहार समुदायका उम्मेदवार रहेका बजरंग नेपालीले महन्थ ठाकुरलाई सघाउने भन्दै उम्मेदवारी फिर्ता लिएपछि अब महन्थ ठाकुर र चन्देश्वर झा दुवै मधेसी ब्राह्मण रहेका कारण निक्कै रोचक भीडन्त हुने विश्लेषण गरिएको छ ।
वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका विजयकुमार चौधरी उम्मेदवार रहेका छन् । गठबन्धनका कारण बलियो हुनसक्ने आँकलन गरिएको छ ।
महोत्तरीको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका तर्फबाट जिल्ला सभापति महेन्द्रकुमार राय उम्मेदवार बनेका छन् । उनी जिल्लास्तरमा प्रभावशाली नेता मानिन्छन् ।
त्यस्तै, यस क्षेत्रमा राजपा–फोरम गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका डा सुरेन्द्र यादव उम्मेदवार छन्। गठबन्धनका कारण उनी पनि बलियो रहेको बुझिएको छ । तर, सोही स्थानबाट राजपा नेपालका महासचिव देवेन्द्र यादव पनि बागी उम्मेदवार छन्, जसले गर्दा परिणाम अप्रत्यासित आउन सक्ने विश्लेषक बताउँछन् ।
त्यसैगरी, सोही स्थानबाट वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मो रजी हैदरले उम्मेदवारी दिएका छन् । मुस्लिम बाहुल्यता रहेको त्यस क्षेत्रमा उहाँको पक्षमा पनि मतपरिणाम आउन सक्ने विश्लेषकको अनुमान रहेको छ ।
समग्रमा महोत्तरी जिल्लाको कुनै पनि क्षेत्रमा कसैको एकल दाबेदारी नरहेको र चारवटै निर्वाचन क्षेत्रमा अप्रत्यासित मत परिणाम आउन सक्ने विश्लेषकको बुझाइ रहेको छ ।
संजितकुमार मण्डल /रासस














