२२ कात्तिक, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले नेपाल–भारत खुला सिमानाको नियन्त्रण र नियमन गरिनुपर्नेमा जोड दिएको छ ।
मोर्चाले आज सार्वजनिक गरेको चुनावी घोषणापत्रमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत सम्पूर्ण असमान सन्धि सम्झौताहरू खारेज गरिने, अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गसम्मको पहुँच र पारवहनको सुनिश्चितताका लागि पहल गरिने उल्लेख छ ।
यसैगरी, चीन र भारतबीच भएको व्यापारिक सम्झौतामा नेपालको लिपु लेकलाई भारतीय भू–भागको रूपमा उल्लेख गरिएकाले त्यसको खारेजी गरिने र भारतद्वारा अतिक्रमित भू–भाग फिर्ता गर्न पहल गरिनेलगायतका विषय घोषणापत्रमा समावेश गरिएको छ ।
स्वतन्त्र र स्वाधीन अर्थतन्त्रको निर्माण तथा विकास गरिने, दलाल तथा नोकरशाही पूँजीवादलाई उन्मूलन गरी राष्ट्रिय पूँजीपति वर्गका हकहित तथा अधिकारको पक्षपोषण गरिने सो पार्टीले जनाएको छ ।
आगामी दुई दशकभित्र देशको अर्थतन्त्र विकास गरी नेपाललाई अल्पविकसितबाट विकासोन्मुख हँुदै विकसित देशको श्रेणीमा पु¥याउने, विकासतर्फ भन्दा साधारण खर्चतर्फ बढी बजेट विनियोजन गर्ने प्रचलनलाई उल्ट्याएर विकासतर्फ बढी बजेट विनियोजन गरिने घोषणापत्रमा उल्लेख छ ।
भ्रष्टाचार विरोधी सशक्त कानून बनाउने र भ्रष्टाचारीलाई सशक्त कानुनी कारबाही गर्ने र भ्रष्टाचारलाई अन्त्य गर्ने कार्यमा अग्रपंक्तिमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिवद्धता सो पार्टीले व्यक्त गरेको छ ।
शिक्षा र स्वास्थ्यलाई पूर्णरूपले राज्यको दायित्वअन्तर्गत राख्ने, सामन्ती भू–स्वामित्वको अन्त्य गरी वैज्ञानिक र क्रान्तिकारी भूमिसुधारको व्यवस्था गर्ने अठोट पनि सो पार्टीले गरेको छ ।












