२२ कात्तिक, गोरखा । माओवादी केन्द्रका नेता तथा गोरखा–२ का प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठले आफ्ना प्रत्यासी डा बाबुराम भट्टराई विचारविहीन भएको आरोप लगाएका छन् । मंगलबार
लडेर सामान्य घाइते भएका श्रेष्ठले वुधबार गोरखाको वारपाकको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराई विचारविहीन व्यक्ति भएकोले उनी आफ्नो प्रतिद्वन्द्वी नै नभएको बताए ।
भट्टराईलाई आरोप लगाउँदै श्रेष्ठले भने उहाँको कुन समयको विचार र योजनालाई मान्ने ? ‘माओवादीमा हुँदा, त्यहाँबाट निस्केर नयाँशक्ति गठन गर्दा, नयाँशक्तिको शक्ति निर्माण गर्न नसकेर संघीय समाजवादी फोरमसँग पार्टी एकता गरौं भन्दा, फोरमले अस्थिर बिचार भएकासँग एकता गर्दैनौं भनेर पछाडि हटेपछि उसैको चुनाव चिन्ह मशाल लिएर स्थानीय तह निर्वाचनमा सामेल हुँदा, एकीकृत कम्युनिस्ट पार्टी बनाउन म पनि आउँछु भन्दा, चार दिनमै निस्केर जाँदा या त्यसको चार दिनपछि कांग्रेससँग पुग्दा, कतिवेलाको विचारलाई मान्ने ?’
सभालाई सम्बोधन गर्दै श्रेष्ठले आफूसँग प्रष्ट विचार हुनु नै चुनाव जित्ने बलियो आधार भएको दावी गरे । गोरखा–२ का कांग्रेस समर्थकहरुको पनि आफू नै प्रतिनिधिसभाको उम्मेदवार भएको श्रेष्ठको दावी थियो । ‘कांग्रेसले भट्टराईलाई समर्थन गरेको गरेको भए पनि कांग्रेसका मतदाताले आफूलाई रोज्ने उनको भनाइ थियो । भट्टराईमा मौकापरस्त, अवसरवादी र व्यक्तिवादी प्रवृत्ति देखिएकोले उनको दलले लोकतन्त्रलाई सुदृढ नगर्ने उनले बताए । आज एउटा, भोलि अर्कै, पर्सि अर्कै कुरा गर्ने र त्यसको वरिपरि जनता आइदिन्छन् भनेर मतदातालाई भेडाबाख्रा ठान्ने मान्छे लोकतन्त्रको रक्षा नगर्ने उनले दोहोर्याए ।












