२२ कात्तिक, धनुषा। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा कांग्रेसलाई जिताए मधेसीको पक्षमा संविधान संशोधन गर्ने आश्वासन दिएका छन् । वुधबार धनुषामा आयोजित कांग्रेसका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै मधेसीको पक्षमा कांग्रेस रहेको दावी गरे । मधेसीको पक्षमा संविधान संशोधन गर्न
कांग्रेसलाई दुई तिहाई बहुमत चाहिएको उनले बताए ।
धनुषाका ४ प्रतिनिधीसभा तथा ८ प्रदेशसभाका कांग्रेस उम्मेदवारहरुसहितको भेलामा देउवाले संविधानमा कमी कमजोरी रहेको बताए । ‘मधेसमा गरिबी र पछौटेपन रहेको भन्दै मधेसी जनताले संवैधानिक अधिकार पनि कम पाएको देउवाले दावी गरे । तर, यी सबै समस्याहरुको समाधान संविधान संशोधनबाट मात्र सम्भव भएकोले कांग्रेसलाई जिताउनुपर्ने जिकिर उनले गरे ।
जनकपुरलाई धार्मिक तथा सांस्कृतिक धरोहरको संज्ञा दिंदै उनले नेपाल भारतबीचको सम्बन्धलाई जनकपुरले अझ प्रगाढ बनाएको बताए ।
कम्युनिष्ट पार्टीहरुलाई धर्म विरोधी पार्टीको संज्ञा दिंदै उनले कांग्रेस धर्ममाथि विश्वास गर्ने पार्टी भएको दावी गरे ।
कार्यक्रमलाई धनुषा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विमलेन्द्र निधिले एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनलाई लोकतन्त्रमाथिको षड्यन्त्र भएको आरोप लगाए । ‘माओवादी र एमालेबीच भएको ६ बूँदे सम्झौताले नेपालमा एकदलीय कम्युनिष्ट शासन प्रणाली लाद्ने षडयन्त्र भएको आरोप उनको थियो ।











