२२ कात्तिक, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफूहरु मात्रै राष्ट्रवादी राजनीतिक शक्ति रहेको र सबैभन्दा ठूलो दल कांग्रेस राष्ट्रघाती शक्ति रहेको निष्कर्ष निकालेका छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणापत्रमार्फत एमाले र माओवादी केन्द्रले कांग्रेसलाई भारतपरस्त राष्ट्रघाती दल भएको आरोप लगाएका हुन् । मंगलबार सार्वजनिक गरिएको दुई दलको ८ बुँदे घोषणपत्रको ७ नं. बुँदामा अन्य राजनीतिक पार्टीहरुप्रति हाम्रो दृष्टिकोण शीर्षकअन्तर्गत एमाले र माओवादीले देशमा मुलतः दुई प्रवृत्ति रहेका राजनीतिक दल रहेको निष्कर्ष निकाल्दै आफूहरुलाई राष्ट्रहित र लोकतान्त्रिक शक्ति भनी दावी गरेका छन् । राष्ट्रिय स्वाधिनतालाई कुण्ठित गर्ने र बाह्य शक्तिको सल्लाह र आदेशमा चल्ने दोस्रो प्रवृत्तिको प्रतिनिधित्व नेपाली कांग्रेसले गर्ने ठहर दुई दलले गरेका छन् । बाह्यशक्ति भनी कुन शक्तिलाई भनिएको भन्ने किटान नगरिए पनि परोक्ष रुपमा कांग्रेसलाई भारतको इसारामा चल्ने दल भन्ने आरोप घोषणापत्रमा गरिएको छ । ‘विशेष सम्बन्ध’को नाममा छिमेकी देशहरूसँगको सम्बन्धलाई असन्तुलित बनाउने दल कांग्रेस रहेको भनी ऊ भारतसँग नजिक रहेको र चीनसँग दूरि बढाएको दावी एमाले माओवादीले गरेका छन् । त्यति मात्र होइन घोषणापत्रमा कांग्रेसलाई अलोकतान्त्रिक कार्यमा निर्लिप्त र भ्रष्ट्राचारलाई पक्षपोषण गर्ने दल भनिएको छ ।
एमाले र माओवादीले आफूबाहेकका अन्य कम्युनिस्ट दलहरुलाई दलको संज्ञा समेत नदिई साना कम्युनिस्ट समुह भनेका छन् । साना कम्युनिस्ट दलहरुलाई जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी भन्ने आरोप एमाले माओवादीको छ । हेर्नुहोस् एमाले र माओवादीको घोषणापत्रमा रहेको सातौं नं. बुँदा जस्ताको तस्तै ः
७. अन्य राजनीतिक पार्टीहरूप्रति हाम्रो दृष्टिकोण
नेपालको राष्ट्रिय राजनीति आज मुख्यतया दुई प्रवृत्तिमा ध्रुवीकृत भएको छ । एउटा प्रवृत्तिले नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षपोषण गर्छ, नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई सम्पदाका रूपमा ग्रहण गर्दछ । सार्वभौमसत्ता, राष्ट्रिय एकता, लोकतन्त्र, सामाजिक सद्भाव, राष्ट्रिय हित, आत्मसम्मान, सुशासन, समृद्धि, न्याय र समानतालाई मुख्य आधार मानेर राजनीति सञ्चालन गर्न चाहन्छ । स्वतन्त्रतापूर्वक आफ्ना विदेश नीति तर्जुमा गर्ने र सन्तुलित बाह्य सम्बन्ध कायम गर्नुपर्छ भन्ने धारणा राख्छ । यस प्रवृत्तिको नेतृत्व नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एमाले) ले गरिरहेको छ ।
अर्को प्रवृत्तिले अग्रगमनको यात्रालाई रोक्ने गरी दक्षिणपन्थी र यथास्थितिवादी शक्तिहरूलाई आप्mनो वरिपरि गोलबन्द गर्ने प्रयास गरिरहेको छ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रिय हित र स्वाभिमान कुण्ठित हुने गरी बाह्य शक्ति केन्द्रहरुको सल्लाह, परामर्श र आदेशलाई शिरोधार्य गर्नुपर्ने मान्यता राख्छ ।
यस प्रवृत्तिले आपूm बाहेक अरु सबैलाई ‘अतिवादी’ र लोकतन्त्र विरोधी देख्छ र आपूm सत्तामा रहँदा सधैं अतिवादलाई प्रश्रय दिने र अलोकतान्त्रिक कार्यमा निर्लिप्त हुने गरेको छ । यसले कानुनी राज्यको उपहास गर्ने, पृथकतावाद र साम्प्रदायिकतालाई प्रश्रय दिने, आस्थाको आधारमा वैमनस्यता फैलाउने, निजी स्वार्थमा राष्ट्रिय सम्पत्तिको चरम दुरुपयोग गर्ने, भ्रष्टाचार तथा विकृति र विसंगतिलाई पक्षपोषण गरिरहेको छ । ‘विशेष सम्बन्ध’को नाममा छिमेकी देशहरूसँगको सम्बन्धलाई असन्तुलित बनाउँदै राष्ट्रियता, स्वाभिमान र राष्ट्रहित विपरीत कार्य गर्दै आएको छ ।
यस प्रवृत्तिको प्रतिनिधित्व नेपाली कांग्रेसले गरिरहेको छ । यसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीवादसँग सम्झौता परस्त र आत्मसमर्पणवादी रहँदै आएको छ । यस पार्टीका नीतिहरू अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रित छन् । यस पार्टीको मूल चरित्र कम्युनिस्टविरोधी, श्रमजीवी जनताविरोधी र लोकतन्त्रलाई निहित स्वार्थअनुरूप परिभाषित गर्ने खालको छ । सत्तामा रहँदा यसले कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयौंपटक जनविरोधी काम पनि गरेको छ । बहुमत प्राप्त गरेको समयमा स्थीर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढावा दिने कांग्रेसले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त पारेको छ । नवउदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको छ । भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ । प्रशाासन, न्याय प्रणाली, सुरक्षा निकाय र सरकारी संस्थानलाई पार्टीकरण गर्ने यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसँग छँदै छैन ।
यस निर्वाचनमा अन्य केही राजनीतिक समूहहरू पनि सहभागी हुँदै छन् । तिनीहरूमध्ये केही साना कम्युनिस्ट समूहहरू पनि छन् । उनीहरूमा जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्ति छ ।
अन्य पार्टीहरुले मूलतः सामन्तवादका अवशेषहरूलाई संरक्षण गर्ने, राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषण गर्ने र गरिबमुखी तथा श्रमिकवर्गीय सामाजिक– आर्थिक रूपान्तरणको विरोध गर्दै आएका छन् । राष्ट्रिय स्वाधीनता, राष्ट्रहित, सामाजिक सद्भाव एवं राष्ट्रिय एकतालाई कमजोर पार्ने र सामाजिक न्याययुक्त जनमुखी एवं समाजवादउन्मुख नीतिको विरोध गर्दै आएका छन् । संघीयताको कुरा गरे पनि यी पार्टीहरु स्थानीय तहको स्वशासनको अधिकारको विपक्षमा उभिएका छन् ।













