२२ कात्तिक, भद्रपुर । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा प्रतिनिधि सभाका लागि झापा निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार कृष्णप्रसाद सिटौलाले परिवर्तनका पक्षधरहरु पुरातनवादीको पछाडि लाग्न नहुने बताएका छन् ।
चुनावी अभियानअन्तर्गत बाह्रदशी गाउँपालिका–४ पुगेका सिटौलाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले यस क्षेत्रमा उम्मेदवारी नदिएपछि परिवर्तनको पक्षधर नेपाली काँग्रेस मात्र मैदानमा रहेको भन्दै पुरातनवादीको पछाडि नलाग्न मतदातालाई आग्रह गरे ।
२००६ सालदेखि काँग्रेस कम्युनिष्ट मिलेर परिवर्तनको लडाइँ गरिरहेको स्मरण गर्दै सिटौलाले पञ्चायतको पक्षमा रहेर शोषण दमन गर्नेहरु तथा शाही शासनमा जनदमन गरी एकतन्त्रीय सर्वसत्तावाद लाद्न तम्सनेलाई मतदान गर्न नहुने सिटौलाको आग्रह थियो ।
उनले लोकतन्त्रको स्थायित्वका लागि गठबन्धन गरेका एमाले—माओवादीले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवार नदिएकाले मतदाताले प्रगतिशील लोकतन्त्रको पक्षधर नेपाली काँग्रेसलाई मतदान गर्न पनि अनुरोध गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा ‘ख’ का उम्मेदवार भगिरथ पोद्धारले लोकतन्त्रको लडाइँमा नेपाली काँग्रेस निरन्तर पहरेदार भएर लागेको बताएका थिए ।
साविक चकचकी–२ मा भएको अन्तरक्रियामा सहभागीले स्थानीयस्तरमा समाधान हुन नसक्ने सडक, पुल, खानेपानीलगायतका पूर्वाधारको अभाव रहेको दर्शाएका थिए भने प्रतिउत्तरमा सिटौला र पोद्धारले जनताका समस्या समाधानका लागि प्रतिबद्धता व्यक्त गरेका थिए ।












