२० कात्तिक, टेक्सास । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । अन्य २० जनाभन्दा बढी घाइते भएका छन् ।
टेक्सासको सदरल्याण्ड स्प्रिङ्गस्थित बाप्टिस्ट चर्चमा स्थानीय समाचारअनुसार बिहान ११ बजेतिर घटना भएको हो । गुडालुप काउन्टी सेरिफका सार्जेन्ट रोबर्ट मर्फीका अनुसार गोलीकाण्डका संदिग्ध हमलावरको पनि मृत्यु भइसकेको छ ।
प्रहरी अधिकारीहरुका अनुसार गोलीकाण्डका संदिग्ध आफ्नै गाडीमा मृत्त फेला परेका हुन् । उनी प्रहरी कारवाहीमा मारिएका हुन् वा आत्महत्या गरेका हुन् भन्ने खुलेको छैन । उनी २६ वर्षीय पूर्वअमेरिकी सेना तथा बाइबलका शिक्षक डेभिन प्याट्रिक केली रहेको डेली मेलले जनाएको छ । उनी आफ्नै पत्नी र बच्चालाई कुटेको आरोपमा अमेरिकी एयरफोर्सबाट निकालिएका थिए । उनी सान एन्टोनियोको न्यु ब्राउनफेल्सका बासिन्दा रहेको बताइएको छ । उनले हालै मात्र फेसबुकमा एआर – १५ राइफलको तस्वीर राखेका थिए ।
टेक्टसासका गर्भनर ग्रेग अबोटले घटनामा २६ जनाको मृत्यु भएको र मारिनेमा ५ देखि ७२ वर्ष उमेर समूहका रहेको बताए । प्रहरी अधिकारीका अनुसार २३ जनाको चर्चमा, दुई जना चर्च बाहिर र एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
यो टेक्सास राज्यको इतिहासमा अहिलेसम्मकै ठूलो गोलिकाण्ड भएको पनि अबोटले बताए । प्रहरीका अनुसार संदिग्ध हमलाकारी कालो लुगा लगाएर एसल्ट राइफलसहित चर्च पुगेका थिए ।
एसियाको १२ दिने भ्रमणमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई ‘भयानक आक्रमण’ को संज्ञा दिएका छन् ।
अमेरिकामा यस वर्ष १,४९५ वटा गोलीकाण्डका घटना भएका छन् ।