२० कात्तिक, काठमाडौं । मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न स्वदेशी ५२ र विदेशी ४ संस्थालाई निर्वाचन आयोगले अनुमति दिएको छ ।
आयोगले पर्यवेक्षणका लागि स्वदेशी संस्थाका ४४ हजार १४२ जनालाई पर्यवेक्षण गर्नका लागि अनुमति प्रदान गरेको हो । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक०ले सबैभन्दा धेरै १० हजार तथा सिर्जनशील एकीकृत दिगो विकास समाज लैनचौरले सबैभन्दा कम २० पर्यवेक्षक खटाउन अनुमति पाएका छन् । पर्यवेक्षकलाई लामो र छोटो अवधिका लागि अनुमति प्रदान गरिएको छ । लामो अवधिको अनुमति पाउनेले एउटा प्रदेश र छोटो अवधिको अनुमति पाउनेले एउटा जिल्लाको पर्यवेक्षण गर्न पाउने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
पर्यवेक्षणको अनुमति पाउने अन्तर्राष्ट्रिय संस्थामा द कार्टर सेन्टर, युरोपेली सङ्घ, एशियन नेटवर्क फर फ्री इलेक्सन र अनकावा इन्टरनेसले पर्यवेक्षणको अनुमति पाएका छन् । युरोपेली सङ्घले लामो अवधिमा १९ पर्यवेक्षक र कार्टर सेन्टरले पाँच पर्यवेक्षक खटाउनेछन् । युरोपेली संघले निर्वाचन पर्यवेक्षणको आफ्नो योजना मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै छ ।












