२० कात्तिक, काठमाडौं । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनेको संख्या बढेपछि ट्राफिक प्रहरीले दिउँसो पनि मापसे चेकजाँच गर्न थालेको छ । निर्वाचनका वेला दिउँसै मापसे गर्नेहरुको संख्यामा वृद्धि भएको ठहर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसतर्फ आफ्नो ध्यान केन्द्रित गरेको हो ।
राति ८ देखि ११ बजेसम्म मापसे गर्नेमाथि कारबाही गर्दै आएकोमा ट्राफिक प्रहरीले केही दिनयता दिउँसोसमेत जाँच गर्न सुरु गरेको छ ।
महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले ट्राफिक प्रहरीको राति एकै समय मापसे जाँच गर्दा चालकले छल्नका लागि दिउँसै मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउन थालेपछि दिउँसै जाँच गर्न सुरु गरिएको बताए । “सडकमा गुडिरहेका सवारीसाधनलाई बाधा नपर्ने गरी क्रमशः दुई चारवटा सवारीसाधनलाई सडकको किनारामा ल्याएर जाँच गर्न थालेका छौँ,” उनले भने । दिउँसो कार्यालय छाडेर घर जाने समयमा मापसे गरेर सवारी चलाएको पाइएको उनले बताए ।
महाशाखाले विसं २०६८ मंसिर १७ देखि मापसे गरी सवारी चलाउने चालकमाथि जाँच गर्दै आएको छ । प्रवक्ता रञ्जितकारले पछिल्लो समय मापसे गरी सवारी चलाउने र दुर्घटना हुने सङ्ख्यामा कमी आएको बताए । ट्राफिक प्रहरीले मापसे गरी सवारीसाधन चलाउने सवारीसाधनलाई सवारी चालक अनुमतिपत्र भए रु एक हजार र नभए रु दुई हजार जरिवाना लिँदै आएको छ ।












