२० कात्तिक, काठमाडौं । सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक २५ हजार नेपालीले ज्यान गुमाउने गरेका छन् ।
जसमध्ये ८ हजार ३ सय महिलाको ज्यान जाने गरेको एक तथ्यांकले देखाएको छ । एक्सन नेपाल नामक संस्थाले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।
सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ जारी गरे पनि कार्यान्वयनमा आउन नसकदा सुर्तीजन्य पदार्थ सेवनका गर्नेको संख्या बढ्दै गएको छ । सरकारी निकायले सुर्तीजन्य पदार्थको नियन्त्रणमा कडाइ नगरेको, कानुन कार्यान्वयनमा चासो नदेखाएको र सरकारी कर्मचारीले नै कानुन उल्लंघन गरेको समेत तथ्यांकले देखाएको छ । सरकारी कर्मचारीले नै खाजाको समयमा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेकोले कानुनको उल्लंघन सरकारी कर्मचारीबाटै भएको सो संस्थाले उल्लेख गरेको छ ।
यसैबीच काठमाडौंलाई सुर्तीरहित सहर बनाउने तयारी सरकारले गरेको छ । यसका लागि काठमाडौं महानगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयबीच सम्झौताको तयारी भएको जिल्ला जनस्वास्थ्य प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् । काठमाडौंलाई सुर्तीरहित सहर बनाउन १ करोड बजेट व्यवस्था गरिएको समेत श्रेष्ठले जानकारी दिए ।












