१९ कात्तिक, नवलपरासी । भारतीय अतिक्रमणको पीडा भोगिरहेको नवलपरासीको सुस्ता क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका विपीपुत्र सशांक कोइरालाले कांग्रेसले हार्दा देशले हार्ने भएकोले जसरी भए पनि कांग्रेसले आगामी निर्वाचनमा जितेरै छाड्ने घोषणा गरेका छन् । नवलपरासी पुगेका महामन्त्री डा सशांक कोइरालाले आशन्न निर्वाचनमा जस्तोसुकै नीति अपनाएर भए पनि कांग्रेसले विजय हासिल गर्ने खुलासा गरेका हुन् ।
नवलपरासी (बर्दघाट सुस्ता) पूर्वनिर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका डा कोइरालाले आइतबार नवलपरासीकोे दलदलेमा पार्टी अगुवा कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेस कहिल्यै पनि विचलित नहुने पार्टी भएकाले यसलाई कसैले कमजोर बनाउन नसक्ने जिकिर गरे ।
नेपाली कांग्रेस वाम गठबन्धनका कारण चुनावमा कमजोर हुन्छ भनेर हल्ला चलाए पनि त्यो निराधार भएको दावी विपीपुत्र सशांकको थियो ।
नेपाली कांग्रेसकोे विजयलाई अब कसैले रोक्न नसक्ने ठोकुवा गर्दै कोइरालाले कांग्रेस जस्तोसुकै नीति अपनाएर पनि निर्वाचन आफ्नो पोल्टामा पार्न सक्षम हुने दावी कोइरालाले गरे
एक भएर कांग्रेस जिताउन जनताका माझ होमिन डा कोइरालाले सबै कार्यकर्तालाई निर्देशन दिए । मुलुकमा लोकतान्त्रिक र वामपन्थी गठबन्धनबीच प्रतिस्पर्धा रहेपनि काँग्रेसको नेतृत्वको गठबन्धनले यो चुनावमा प्रष्ट जित हात पार्ने कोइरालाले दावी गरे ।
डा कोइरालाले सशक्तरुपमा प्रचारप्रसारमा लाग्न, जनतालाई राम्रोसँग बुझाएर जान र निर्वाचन जसरी पनि जित्ने वातावरण तयार गर्न मातहतका सबै भ्रातृ संगठनलाई महामन्त्री डा कोइरालाले निर्देशन पनि दिए ।
अहिले राजनीतिक दलभित्र तीव्र धु्रवीकरण भएपनि काँग्रेस बलियो शक्ति भएको र यसले काँग्रेसभित्र थप एकता र संगठित हुने अवसर दिएको उनले बताए ।
काँग्रेस महामन्त्री कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिँदै भने, “कांग्रेस हार्दा मुलुक र लोकतन्त्र हार्ने भएकाले कांग्रेस कार्यकर्ता गम्भीर हुनु जरुरी रहेको छ ।”












