१९ कात्तिक, ताप्लेजुङ । नेपालमा अस्थिर सरकार बनाएर खेल्ने विदेशी शक्तिको योजना अब सखाप हुने दावी वामगठबन्धनका नेताहरुले गरेका छन् । लामो समयसम्म नेपालमा स्थायी सरकार बन्न नदिएर भारतले नेपाललाई पेण्डुलम बनाउँदै आएका र अब उसको सपना तुहिने र नेपालले विकासमा फड्को मार्ने दावी वाम गठबन्धनको एक दल एमालेका अध्यक्ष केपी ओलीले गरेका हुन् । आगामी निर्वाचनमा निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएर स्थायी सरकार बनाउने दावी उनले गरे।
वाम गठबन्धन ताप्लेजुङले आइतबार जिल्ला सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रहसमेत गरे ।
अध्यक्ष ओलीले एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै उनले निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी समृद्ध राष्ट्र निर्माणमा नायक शक्ति बनेर अघि बढ्ने बताए ।
ओलीले अहिले दुवै पार्टीले फरक फरक चुनाव चिह्न लिएर लडे पनि एउटै उद्देश्यका साथ अघि बढेको स्पष्ट पारे । पार्टी एकताको अभियानसँगै राष्ट्र निर्माणको महायज्ञमा आफूहरु पसेकाले अबको सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन उनको आग्रह थियो ।
स्थिर सरकार निर्माणकै लागि एकता भएको र पार्टी एकताको कुराले अहिले दुवै पार्टीमा उत्साह छाएको समेत उनले बताए ।
उनले थप्नुभयो, “म माथि छु, यहाँ योगेश हुनुहुन्छ, विकास कहाँ चाहिन्छ भन्ने ठाउँ देखाई दिनुहोस् योजना म पार्छु ।”
यसअघि ताप्लेजुङबाट निर्वाचित सांसदलाई मन्त्री बनाउन नसक्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै ओलीले अब यहाँको विकासका लागि यहाँकै जनप्रतिनिधिलाई जिम्मेवारी दिने बताए ।
यसअघि काँग्रेसका कारण धेरै पार्टी मिलाएर सरकार बनाउनुपर्दा ताप्लेजुङबाट आफ्नो पार्टीका सांसद मन्त्री बन्न नसकेको ओलीको भनाइ थियो ।
अधिनायकवादका विरुद्धमा लड्ने एमालेलाई अहिले विपक्षीहरुले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फिँजाइरहेको उनको भनाइ थियो । पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाएको भन्दै उहाँले अब मुलुकको निकासका लागि वाम गठबन्धनको विकल्प हुनै नसक्ने दावी गरे ।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उम्मेदवार बनेका छन् ।












