१९,कात्तिक,चितवन । एमालेसँग गठबन्धन गरेर आगामी निर्वाचनमा आफू र आफ्नो दललाई सुरक्षित बनाउन खोजेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफू स्वयम् भने जोखिमपूर्ण अवस्थामा छन् । छोरी रेणुलाई भरतपुर महानगरको मेयर बनाउँदै आफ्नो चुनावी मैदान सुरक्षित गर्ने प्रचण्डको अर्को रणनीति भने पैसाको खोलो बगाउन सक्ने ठेकेदार उम्मेदवारका कारण अधिक चुनौतिपूर्ण बनेको छ ।
चितवनमा माओवादी केन्द्रका अध्यक्षसंग चुनावी मैदानमा छन्, राप्रपा ९प्रजातान्त्रिक० का उपाध्यक्ष विक्रम पाण्डे । मन्त्री पाण्डे हलो चिन्ह लिएर कांग्रेसको सर्मथनमा प्रचण्डका विरुद्ध चुनावी मैदानमा छन भने प्रचण्ड एमालेसंगको गठबन्धनबाट । ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा कांग्रेसले क्षेत्र नम्बर ३ मा राप्रपा ९प्रजातान्त्रिक० उम्मेदवार विक्रम पाण्डेलाई सर्मथन गर्नेछ भने, क्षेत्र नम्बर १ र २ मा राप्रपा ९प्रजातान्त्रिक०ले कांग्रेसका उम्मेदवारलाई समर्थन गर्नेछन् ।
मन्त्री पाण्डेले साविक चितवनको निर्वाचन क्षेत्र नम्बर ५ बाट विजयी भएका पूर्वसांसद समेत हुन् । राप्रपा प्रजातान्त्रिक का नेता पाण्डेलाई कांग्रेसले समेत सर्मथन गर्ने भएपछि यहाँको चुनावी प्रतिस्पर्धा निकै रोचक हुनेछ ।
यसअघि पाण्डे प्रचण्ड नेतृत्वको सरकारमा भूमिसुधार तथा व्यवस्था मन्त्री समेत थिए । अहिले देउवा सरकारमा वनमन्त्री छन् । लोकतान्त्रिक गठबन्धनले मन्त्री पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
ठुलै ठेकेदारको समेत पहिचान बनाएका विक्रम पाण्डे, प्रचण्डका लागि वलिया प्रतिस्पर्धी हुनेछन् । राप्रपा प्रजातान्त्रिक को कुनै संगठित मत नभए पनि पाण्डेले लोकप्रिय मतका आधारमा यसअघि एमाले उम्मेदवार दानबहादुर तामाङलाई पराजित गरेका थिए ।
माडी नगरपालिका र भरतपुर महानगरको जगतपुर, मेघौली, शुक्रनगर लगायतका क्षेत्रमा पाण्डेको बलियो प्रभाव छ । क्षेत्र नम्बर ३ मा नै पर्ने वडा नम्बर ६, १४, १५, १७, १८, १९, २० मा कांग्रेसको पकड छ । एमालेभित्र थोरै मात्रै असन्तुष्टि कायम रहँदा चुनावी प्रतिस्पर्धा निकै साघुरो अंकबाट अघि बढ्ने छ । यस क्षेत्रका मतदाता भने उत्साहित देखिएका छन् ।
के सुरक्षित छन त प्रचण्ड ?
प्रचण्ड अहिले चितवनको ३ निर्वाचन क्षेत्रबाट प्रतिनिधी सुभाका लागि वाम गठबन्धनको साझा उम्मेदवार बनेका छन् । प्रचण्डले चितवनको विकासमा प्याकेजका रुपमा जति रकम लगानी गरेका छन त्यो बढीजसो ३ नम्बर क्षेत्रमा पर्छ । क्षेत्र नम्बर ३ को माडी नगरपालिकाको मेयर माओवादी केन्द्रले जितेको छ । त्यहाँ कांग्रेस, एमाले र राप्रपा माओवादीकै बराबरीमै देखिन्छन् । तर नगरपालिकाको बोर्डमा एमालेको स्पष्ट बहुमत छ । अधिकांश वडा एमालेले जितेको छ । भरतपुर महानगरमा माओवादीले ३ वटा मात्रै वडा जितेको छ । जसमा वडा नम्बर २५ र २६ मा वडाध्यक्ष मात्रै र वडा नम्बर १३ मा पुरै प्यानलसहित जितेको हो ।
माओवादीले वडा नम्बर २६ मा एमालेसँग तालमेल गरेर वडाध्यक्ष जितेको हो भने बाकी आफैले । महानगरका १९ वटा वडा हाल क्षेत्र नम्बर ३ मा पर्छन् । माओवादीले जितेका ३ वटै वडा क्षेत्र नम्बर ३ मा नै परेका छन् । एमालेले १९ मध्ये ६ वटा र कांग्रेसले ११ बटा वडा जितेका छन् ।
गठवन्धनपछिको कति मत ?
भरतपुर महानगरका १९ वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ । यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन आउँछ । यो माओवादीको नितान्त एक्लो मत हो । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ थप्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वामगठवन्धनको मत ४२ हजार ४ सय ६४ पुग्छ ।
अर्कोतीर , भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । यो जोड्दा कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसरी हेर्दा प्रचण्डलाई जोखिम नै छ भन्न नसकिएपनि चुनौती भने पक्कै हुनेछ । साविकको क्षेत्र नम्बर ४ कांग्रेसको सबैभन्दा बलियो पकड क्षेत्र हो । अहिले विक्रम पाण्डे कांग्रेसको रुख चिन्ह लिएर चुनाव लड्ने अवस्थामा प्रचण्डका लागि असजिलो हुने कतिपयले अनुमान गर्दै आएका छन् ।
विक्रम पाण्डेलाई प्रचण्डसँग लड्नु जोखिमपूर्ण !
त्यसो त विक्रम पाण्डेलाई पनि प्रचण्डसँग चुनाव लड्नु कम जोखिमपूर्ण छैन । देशकै ठूलो नेतासंग भिड्न भनेजस्तो सहज छैन । त्यसमाथी पाण्डेको आफ्नै पार्टीको संगठनात्मक भोट कमजोर छ । कांग्रेसको मतको बलमा चुनाव लड्न लागेका उनले कांग्रेसबाट सबै भोट आफूतिर तान्न सक्छन् या प्रचण्डतिर जान्छ भन्ने कुराले उनको हारजितलाई तय गर्नेछ ।













