३० असोज, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा डिभिजनमा नेपाल तल झरेको छ । हङ्कङमा भएको खेलमा मौसमले साथ नदिँदा नेपाल तल झर्न बाध्य भएको हो । हङकङबिरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले एकएक अंक बाँडेका छन् । यो अवस्थाका कारण प्रतियोगिताको दुई खेल बाँकी रहे पनि डिभिजन २ मा झरेको हो ।
हङकङमा आइतबार आएको समुद्री तुफान सँगै वर्षा भएपछि सोमबारका लागि सारिएको खेल पनि स्थगित भएको हो । त्यसपछि अम्पायरले दुवै टोलीलाई एक एक अंक बाँड्ने निर्णय गरे ।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।
यस नतिजाले नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चार भित्र पर्न असफल भएसँगै डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ ।
नेपालसँगै नामिविया र युएईको डिभिजन खस्कने निश्चित भइसकेको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष स्थानमा छ भने १६ अंक जोडेको पपुवा न्युनिगी दोस्रो, १५ अंकसहित स्कटल्याण्ड तेस्रो, १४ अंक पुर्याएको हङकङ चौथो र १२ अंक जोडेको केन्या पाचौं स्थानमा छ ।
आगामी डिसेम्बरमा प्रतियोगिताका अन्तिम चरणका खेलहरु हुनेछन् । त्यस चरणमा नेपालले युएईसँग उसकै मैदानमा दुई खेल खेल्नेछ । अहिले ९ अंक जोडेको नेपालले त्यस चरणमा दुवै जित हासिल गरे पनि शीर्ष चार रहने छैन।
डिभिजन टूमा घटुवा भए पनि नेपालले सन् २०१९ मा इंग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको छनोट खेल्ने सम्भावना भने सकिएको छैन ।
आगामी फेब्रुअरीमा नेपालले नामिवियामा हुने आईसीसी डिभिजन टू मा सहभागिता जनाउनेछ । त्यस प्रतियोगितामा शीर्ष दुईभित्र रहेमा नेपालले विश्वकप छनोट खेल्ने अवसर पाउनेछन् ।












