२३ असोज, काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि काठमाडौं शान्तिनगरस्थित प्रयागमार्गको प्रयागचोकमा गोली हानी हत्या भएको छ । सोमबार दिउँसो सवा तीनबजेतिर मोटरसाइकलमा आएका दुई सुटरले राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गोली प्रहार गरी हत्या गरेका हुन् । गोली लागेपछि उपचारको लागि नजिकैको सिभिल अस्पताल लगिएको भए पनि डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।
गौचनको शरीरमा तीनवटा गोली लागेका छन् । जसमा एउटा गोली मुटुमा, एउटा कलेजोमा, एउटा पेटमा लागेको छ । प्रहरीका अनुसार मोटरसाइकल चालकले पिंक कलरको हेलमेट र टिसर्ट लगाएका थिए ।
शेरचनको शरीरमा ३ गोली लागे पनि उनी सवार ल्याण्ड क्रुजर गाडीको अगाडि भने दुई वटा प्वाल मात्र देखिएको छ । तेस्रो गोली कताबाट हानिएको भन्ने रहस्य अझै खुल्न सकेको छैन । दुई गोली अगाडिबाटै हानिएको स्पष्ट भए पनि कोखामा लागेको तेस्रो गोली कहाँबाट हानियो भन्ने रहस्य गम्भीर देखिएको छ ।














