२३ गते असोज, तनहुँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, राजनीतिक स्थिरता र विकासले मात्रै लोकतन्त्रको जग बलियो बनाउन सक्ने बताएकी छिन् ।
गोरखाको पालुङटार नगरपालिका–१० ठाँटीपोखरीमा आयोजना गरिएको गोरखा लिगलिग पालुङटार भवानी शैक्षिक तथा धार्मिक महोत्सव–२०७४ को आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् । सो अवसरमा बोल्दै भण्डारीले नेपालको एकीकरण अभियानका महानायक पृथ्वीनारायण शाहको योगदानको उच्चमूल्याङ्कन गर्नुपर्ने धारणा व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले पूर्वीय दर्शनले अङ्गीकार गरेका मानवीय मूल्य र मान्यताको प्रचार उच्च नैतिकतायुक्त मानव समाजको निर्माण, परोपकारी भावनाको विकास एवं स्वच्छ र शान्त जीवन पद्धति विकास गर्न धार्मिक महोत्सव फलदायी हुने विश्वास व्यक्त गरिन् ।
यसै प्रसंगमा आफ्ना पूर्वजहरु पाण्डे गोरखाबाट बसाइँ–सराइ हुँदै भोजपुर गएको ऐतिहासिक तथ्यको स्मरण गरिन् ।
एकीकरणको अभियानदेखि नै साहस, वीरता, एकता र जातीय सहिष्णुताको ऐतिहासिक उदाहरण गोरखाले प्रस्तुत गरिसकेको उनले बताइन् । गोरखा एउटा गौरवशाली भौगोलिक क्षेत्रका रुपमा नेपालको राजनीतिक भूगोलमा सदा अङ्कित रहने भनाइ उनको थियो ।
शिक्षा, शान्ति र समुन्नतिको महत्वपूर्ण आधार भएको र चेतना र जागरणको माध्यम पनि शिक्षा भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले मौलिक मानव अधिकारका रुपमा रहेको शिक्षाको पहुँच सबैमा पुर्याउनुपर्ने बताइन् ।
भूकम्पपछिको पुनःनिर्माणलाई जोड दिने नेपाल सरकारको नीतिबमोजिम आफू स्वयं भूकम्पको केन्द्रविन्दु रहेको बारपाक पुगेर नजिकबाट अनुभूत गरी पुनःनिर्माण कार्यलाई तीव्रता दिन आह्वान गरेको भण्डारीले बताइन् ।
जोखिम क्षेत्रको संवेदनशीलतालाई मध्यनजर राखी व्यक्तिगत संरचना, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदा, शैक्षिक संस्था एवं सरकारी, सामुदायिक क्षेत्रको पुनःनिर्माणलाई तीव्रता दिन राष्ट्रपति भण्डारीले सम्बद्ध सबैपक्षको ध्यानाकृष्ट गराएकी थिइन् ।
सो अवसरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वउपप्रधानमन्त्री नाराणकाजी श्रेष्ठ, पूर्वमन्त्री वाचस्पति देवकोटा, सांसद कमला पन्त, पालुङटार नगरपालिका प्रमुख दीपकबाबु कँडेल लगायतले यस क्षेत्रको विकासका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पालुङटारलाई प्राविधिक शिक्षा तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको नेपालकै नमूना शैक्षिक केन्द्र निर्माण गर्नका लागि असोज २२ देखि २९ गते सम्म महोत्सवको आयोजना गरिएको हो ।
आगामी पाँच वर्षभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको क्याम्पसको स्थापना गर्ने पनि समितिले जनाएको छ ।












