२३ असोज, काठमाडौं । मकाउमा कार्यरत एक नेपाली मिर्गौला रोगबाट पीडित बनेपछि उनको उपचारका लागि त्यहाँ कार्यरत नेपालीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । कास्की जिल्लाको तत्कालीन सिध्द गाविस वडा नं १ स्थायी घर भएका ३९ वर्षीय राजु वस्नेतको उपचारमा मकाउमै कार्यरत अन्य नेपालीहरुले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको जानकारी मकाउमा कार्यरत नारायण केसीले दिए ।
मिर्गौलापीडित वस्नेत मकाउको सिटी अफ ड्रिम्स क्यासिनोमा कार्यरत थिए । क्यासिनोमा कार्यरत रहँदाकै अवस्थामा उनको मिर्गौलामा समस्या आएपछि मकाउको सान्तेन अस्पताल भर्ना गरिएको थियो । सान्तेन अस्पतालले दुवै मिर्गौलाले काम गर्न छाडेको र मिर्गौला प्रत्यारोपणको विकल्प नभएको बताएपछि उनी कार्यरत कम्पनी र नेपालीहरुको सहयोगमा उनलाई नेपाल पठाइएको थियो । राजु नेपाल फर्केर उपचार गराइरहेकै अवस्थामा रोशन अहमदले गत सेप्टेम्बर २० मा रकम हस्तान्तरण गरेको जानकारी नारायण केसीले दिए ।
मकाउमा कार्यरत नारायण केसी, महेन्द्र गौतम र रेशम रानाभाटले राजुको उपचारका लागि नेपालीहरुसँग आर्थिक सहयोगको अपील गर्दै फेसबुकमा स्टेटस लेखेकै आधारमा १ लाख रुपैयाँ संकलन भएको थियो । ७ हजार ५ सय ५३ हङकङ डलर अर्थात् १ लाख १ हजार ९ सय ७० नेपाली रुपैयाँ स्यान्ड्स् भेन्टियन क्यासिनोमा कार्यरत रोशन अहमदमार्फत राजुलाई हस्तान्तरण गरिएको थियो । राजुको सहयोगका लागि स्यान्डस् कोटाइ सेन्ट्रलमा कार्यरत नेपालीहरुबाट रकम संकलन गरिएको थियो ।
गत अगस्त ४ तारिक नेपाल फर्किएका राजुको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भैरहेको र मिर्गौला प्रत्यारोपणका लागि पहल भैरहेको जनाइएको छ ।















