२३ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिताका लागि अन्तिम तयारी गरेको छ । अन्तिम तयारी स्वरुप सरकारमा सहभागिताको निर्णय गर्न राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । आज सोमबार विहाना ११ बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।
पार्टीका शीर्ष नेता र प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेताहरुबीच गए राति छलफल भएको थियो । कांग्रेस र राप्रपा नेताहरुबीच सरकारमा सहभागिताका लागि भएको सहमति भएको थियो ।
बैठकले मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने उक्त बैठकले नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएको बृहत् लोकतान्त्रिक गठबन्धनमा समेत राप्रपाले सहभागिता जनाउने र मिलिजुली निर्वाचन लड्ने बताइएको छ ।












