११ भदौ, नयाँ दिल्ली । भारतको राजकीय भ्रमण पूरा गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ स्वदेश फर्किएका छन् । भ्रमणको अन्तिम दिन उनले भारतको विहार राज्यको भ्रमण गरे । विहारस्थित बोधगयामा देउवाले गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थानको भ्रमण तथा दर्शन गरेका थिए ।
विहारको भ्रमणबाट नयाँ दिल्ली फर्केलगत्तै देउवा काठमाडौंका लागि प्रस्थान गरेका छन् । नयाँ दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा देउवालाई भारतका सञ्चार राज्यमन्त्री मनोज सिन्हाले विदाइ गरेका छन् ।
प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल नेपाल वायु सेवा निगमको नियमित उडानमार्फत काठमाडौंका लागि प्रस्थान गरेको छ । देउवा नेतृत्वको टोली राति आठबजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।













