११ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति जनाएको छ । स्थायी कमिटी बैठकबाट नै एमालेले देउवाको संविधान संशोधनबारेको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो । एमालेले विज्ञप्ती जारी गर्दै भनेको छ संविधान संशोधनको विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको आन्तरिक मामलामा बाह्य पक्षलाई सङ्लग्न गराउने हानीकारक काममात्रै गरेको छैन, यसले संविधान निर्माण गर्ने ऐतिहासिक संविधानसभा तथा सार्वभौम व्यवस्थापिका–संसदको अपमान समेत गरेको छ ।’
संसदमा मतदान भएर विधिपूर्वक टुङ्गिइसकेको र असन्तुष्ट दलहरुले परिणाम स्वीकार गरेर निर्वाचनमा सहभागी हुन सहमत भइसकेको यथार्थलाई अवमूल्यन गर्दै संविधानको ‘स्वीकार्यता’को अनुचित विवाद उठाउनुले नेपालको संविधानप्रति स्वयम् प्रधानमन्त्रीको निष्ठामाथि समेत प्रश्नचिह्न खडा गरेको उल्लेख छ ।

त्यसै गरी नेपालले जलविद्युत् लगायत नवीकरणीय उर्जाका माध्यमबाट इन्धनमा आत्मनिर्भरता हासिल गर्ने दिशामा अग्रसर भइरहेको परिप्रेक्ष्यमा प्राकृतिक तथा एलपिजी ग्यास पाइपलाइन बिछ्याउने समझदारीले नेपाललाई थप परनिर्भर बनाउन सक्ने तथ्यप्रति पनि चासो व्यक्त गरेको छ ।
बरु प्रधानमन्त्रीले नेपालको तराई भूभागलाई वर्षेनी डुबानमा पार्ने तथा यो वर्षको विनाशकारी डुबानको मुख्य कारकको रुपमा रहेका भारतीय सीमामा एकतर्फी ढङ्गले बनाइएका बाँध तथा अन्य संरचनाका विषयमा गंभीर छलफल गरी दीगो समाधान खोज्न, नेपालको व्यापार घाटा कम गर्नका लागि नेपालका कृषि तथा औद्योगिक उत्पादनहरुलाई भारतीय बजारमा सहज पहुँच सुनिश्चित गर्न, वर्षौंदेखि अधुरा रहेका परियोजनालाई यथाशीघ्र सम्पन्न गर्न एवं नेपालको राष्ट्रिय हितको पक्षमा दृढतापूर्वक उभिन आफ्नो पार्टीलगायतले दिएको सुझावअनुसार भारतमा कुराकानी नगरेको गुनासो गरेको छ ।











