१ भदौ, नेपालगञ्ज । बाँकेमा आएको बाढीले एकैसाथ तीन छोरी गुमाएका एक व्यक्तिलाई सरकारले प्रतिमृतक २ लाखका दरले एकमुष्ठ ६ लाख रुपैयाँ प्रदान गरेको छ । बाढीले घर भत्किएर तीन छोरी गुमाएका बाँकेका कामीलाल थारुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आज ६ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
बाढी पीडितको अवस्था बुझ्न बाँके पुगेका प्रधानमन्त्री देउवाले सरकारको निर्णय अनुसार ६ लाखको चेक दिएका हुन् । सरकारले बाढीमा मृत्यु भएकाको परिवारलाई प्रतिमृतक २ लाख रुपैयाँ राहत दिने निर्णय पहिले नै गरेको थियो । कामीलाललाई सरकारले नै घर बनाइदिने आश्वासन समेत देउवाले दिएका छन् ।
बाढीले राप्ती सोनारी ४ लालपुर गाउँमा थारुको घर भत्किएको थियो । घर भत्किन थालेपछि थारु दम्पत्तिले भागेर ज्यान बचाए पनि ७, ९ र १२ वर्षकी तीन छोरीको एकैसाथ मृत्यु भएको थियो ।












