२२ साउन, काठमाडौं । व्यवस्थापिका– संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले रौतहटको गरुडामा चार बालिकाको खाल्डामा डुबेर मृत्यु भएको घटनाबारे नेपाल सरकारको विशेष ध्यानाकर्षण गराएकी छिन्। उनले व्यवस्थापिका– संसद्को अर्को बैठकमा सोबारे जवाफ दिन सरकारलाई निर्देशन दिइन् ।
त्यसअघि आजको बैठकको प्रारम्भमा समय माग गर्दै नेकपा ९एमाले०का प्रमुख सचेतक भानुभक्त ढकालले सो सडक निर्माणमा संलग्न ठेकेदारको लापरबाहीको आलोचना गरे ।
उहाँले आफूहरूले यस्ता घटना हुन नदिनेतर्फ आवश्यक प्रयास गर्न सरकारको पटक÷पटक ध्यानाकर्षण गराएको तर त्यसको सुनुवाइ नभएको बताउँदै मृतक बालिकाका अभिभावकलाई क्षतिपूर्तिको व्यवस्था गर्न र लापरबाही गर्ने ठेकेदारलाई कारबाही गर्न माग गरे । देशका विभिन्न भागका सडकका खाल्डा नपुरिँदा हालैका दिनमा ११ बालबालिकाको मृत्यु भइसकेको जानकारी पनि उनले दिए ।
सांसद ढकालले गरुडा घटनालगायत सडकका खाल्डामा डुबेर ज्यान गुमाएका तथा त्यस्तै प्रकृतिका घटनाका सम्बन्धमा सरकारले सदनलाई जानकारी नदिएसम्म संसद्को कारबाही सञ्चालन गर्न नदिने भनेपछि एमालेका सबै सांसद आआफ्नो आसनबाट उठेर बैठक संचालन हुन रोकेका थिए ।
विपक्षी दलले उठाएका विषयमा सरकारलाई गम्भीर हुन सभामुखले निर्देशन दिँदै अर्को बैठकमा सरकारबाट जवाफ आउने प्रतिबद्धता व्यक्त गरेपछि एमालेका सांसद आआफ्ना आसनमा बसेका थिए । त्यसपछि मात्रै बैठक सञ्चालन भएको थियो ।
खाल्डा पुर्ने काम नभएको भन्दै सांसदहरुको आपत्ति
आजको बैठकको शून्य समयमा सांसद् रामहरि खतिवडाले प्रधानमन्त्रीले १५ दिनभित्र काठमाडौँका सडकका खाल्डा पुर्न निर्देशन दिए पनि काम नभएकामा आपत्ति जनाउँदै रौतहटमा चार बालिकाको मृत्यु हुनु अति पीडादायी घटना हो भने ।
सांसद रामनारायण विडारीले सडकमा खनिएको ‘एम्बुसरुपी’ खाडलले बालिकाहरुको ज्यान लिएकाले खाल्डा खन्ने तर नपुर्नेलाई कारबाहीको माग गरे । सांसद रामअयोध्या यादवले गरुडामा सामान्य असावधानीका कारण बालिकाहरुले जीवन गुमाएकामा दुःख व्यक्त गरे ।
सांसद विकास लम्सालले सरकारले आगामी मंसिरमा संघ र प्रदेशको निर्वाचनका विषयमा प्रक्रिया सुरु नगरेको भन्दै गुनासो गरे । सांसद बैजनाथ चौधरीले काठमाडौँलाई जोड्ने महत्वपूर्ण राजमार्ग पटक पटक अवरुद्ध भएकाले त्यसको निर्माणलाई गति दिन सरकारको ध्यान आकर्षण गराइन् ।












