२१ साउन, चितवन । भरतपुर महानगरपालिकाको मेयर पदमा अन्ततः रेण दाहाल विजयी भएकी छिन् । चितवनको भरतपुर महानगरपालिकाको मतगणना सकिएपछि आएको मतपरिणामअनुसार रेणु विजयी भएकी हुन् । मेयरको विजयको परिणाम भने घोषणा हुन बाँकी छ ।
भरतपुर महानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् । उपमेयरमा पनि
कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।
भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो । तर, परिणाम भने झण्डै तीन महिनापछि मात्र आएको छ । भरतपुर १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते शनिबार पुनः मतदान गराएको थियो ।
मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए ।
वडा नम्बर २० मा ज्ञवालीले ५६३ मत तिरेका थिए । २२१ मतको सामान्य अग्रता लिएर वडा नम्बर २० मा प्रवेश गरेका ज्ञवालीको अग्रता १६ सय मत गणना गरेपछि सकिएको थियो ।











