१९ साउन, धनुषा । एमाले र राजपालाई लडाएर कांग्रेसले मधेश कब्जा गर्ने सपना देखिरहेको आरोप एमालेले लगाएको छ । प्रदेश नं २ को चुनावलाई लक्षित गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले जनकपुर पुगेर
एमालेविरुद्ध अभिव्यक्ति दिएकै दिन एमाले जनकपुरबाटै कांग्रेसमाथि प्रहार सुरु गरेको हो ।
जनकपुरमा विहीबार पत्रकार सम्मेलन गर्दै एमाले सचिव योगेश भट्टराईले कांग्रेसमाथि यस्तो आरोप लगाएका हुन् । नेता भट्टराईले एमाले नै मधेसीको अधिकारको वकालत गर्ने पार्टी भएकाले मधेसमा कांग्रेसले एमालेप्रति भ्रम सिर्जना गर्न खोजेको दावी गरे ।
विगतमा तीव्र विरोधी शक्तिका रुपमा रहेका एमाले र राजपाबीच निकटताको सम्बन्ध बनेको अवस्थामा कांग्रेसले यसलाई भाँड्ने खेल गरिरहेको आरोप समेत उनले लगाए । उनले भने “संविधान संशोधनको कुरोमा राजपासँग हाम्रो केही विमति भए पनि हामी चाहन्छौँ राजपा र एमालेमा सम्बन्ध सुधार होस् ।”
कांग्रेसले नै राजपालाई चुनावमा ल्याउन नचाहेको आरोप समेत भट्टराईले लगाए । राजपाले निर्वाचनमा चुनाव चिह्न पाउनुपर्ने माग एमालेले गरे पनि कांग्रेसले राजपालाई चुनावमै आउन नदिन षड्यन्त्र गरिरहेको आरोप आरोप उनको थियो ।
एमालेले जनकपुरको विकासका लागि विशेष अभियान चलाउने जानकारी दिँदै जनकपुरमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि प्रयत्न एमालेले थाल्ने आश्वासन समेत भट्टराईले दिए ।













