१९ साउन, काठमाडौं । एमालेविरोधी भावना कायम रहेको २ नम्बर प्रदेशमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले त्यसमाथि घिऊ थप्ने काम गर्दै एमालेविरुद्ध त्यहाँका जनतालाई उक्साएका छन् । विहीबार जनकपुर पुगेर देउवाले मधेसी र पहाडी फुटाउने शक्ति नेकपा एमाले भएकोले ऊसँग मतदाता सचेत रहनुपर्ने अभिव्यक्ति दिएका हुन् । देउवाको यो अभिव्यक्तिले सद्भाव कायम हुने हो या मधेसमा एमालेका कार्यालय जलाउने र कार्यकर्तामाथि आक्रमण हुने क्रम झन् बढ्ने हो भन्ने कुरा संवेदनशील बनेको छ ।
दुई नम्बर प्रदेशस्तरीय कार्यकर्ता भेलालाई विहीबार जनकपुरमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले भने, ‘वर्षौंदेखि मिलेर बसेका मधेसी र पहाडीलाई राष्ट्रियताको नाममा एमालेले फुटाउन खोजेको छ । उबाट सतर्क हुनुपर्छ ।’
पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा आन्तरिक गडबडीका कारण कांग्रेसले हारेको भन्दै देउवाले अब गडबडी सुधारेर पहिलो पार्टी बन्नुपर्ने दावी गरे । उनले आगामी चुनाव कांग्रेसका लागि जीवन मरणको सवाल रहेको पनि बताए ।
मधेस केन्द्रित दलको माग सम्बोधन गर्नका लागि सरकारले संविधान संशोधन गर्ने आश्वासन समेत देउवाले दिए ।
प्रधानमन्त्री देउवाले आफूले गर्ने भारत भ्रमणका क्रममा हुलाकी राजमार्ग निर्माणका लागि भारतलाइ नै गुहार्ने धारणा व्यक्त गरे । आफूले छिट्टै भारत भ्रमरण गर्ने र भारतीय पक्षसँग कुरा गरेर तराईका हुलाकी राजमार्गको कामलाई तिव्रता दिने आश्वासन दिए ।
कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले, पार्टी महामन्त्री शशांक कोइरालालगायतले टिकट वितरणमा मनोमानी नहुने विश्वास व्यक्त गरेका थिए । त्यसका लागि जिल्ला तहबाट नै सिफारिस लिने उनीहरुको भनाइ थियो ।












