१७ साउन, काठमाडौं , स्थानीय निर्वाचनको सर्वाधिक विवादस्पद र चर्चित स्थान भरतपुर महानगरपालिका वडा१९ मा पुनः निर्वाचन गर्ने साइत साउन २० गतेका लागि जुरेको छ । चितवनस्थिति निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकले निर्वाचनका लागि साउन २० को साइत अर्थात् मिति निर्धारण गरेको हो ।
नेकपा एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले राजनीतिक तिक्तता नगरी शान्तिपूर्ण निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति भएको जानकारी दिए ।
सांसद पोखरेलले भने, “कुनै पनि राजनीतिक तीक्तता नगर्ने, चितवनले जो एउटा कलंक बेहोर्यो फेरि त्यो कलंक नबेहोर्ने गरी शान्तिपूर्ण निर्वाचन गर्ने कुरामा राजनीतिक दल सबैको बीचमा सहमति भएको छ ।”
छलफलपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बुधबारदेखि प्रचारप्रसार गर्न नपाउने मौन अवधि शुरु हुने गरी साउन २० गते निर्वाचनको मिति तय गरेको जानकारी दिए ।
यस्तै, नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज ईश्वरी भट्टाराईले सबै दलको सहमतिमा मिति तय गरी सौहार्द्रपूर्णरुपमा मतदान सम्पन्न गर्ने सहमति भएको र सोहीअनुसार अघि बढ्ने बताए । सबै दलले प्रचारप्रसार पहिले नै गरिसकेकाले अब खासै प्रचार आवश्यक नभएको र भोलि वुधबारदेखि नै मौन अवधि शुरु गर्ने सहमति गरेको उनले बताए ।
दलीय सहमतिअनुसार यही साउन २० गते शुक्रबार पुनः मतदान गर्ने निर्णय मंगलबार भएको चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले स्पष्ट पारेका छन् ।
निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको सूचनामा २०७४ साल जेठ २० गतेको निर्वाचन आयोगको निर्णय र साउन १६ को निर्देशनअनुसार भरतपुर १९ को मतपत्र बदर घोषित गरी सो स्थानमा साउन २० गतेका दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने उल्लेख गरिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि आजै भरतपुर–१९ को २ हजार ८०७ बदर मतलाई दलीय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्ड हलको परिसरमा जलाएर नष्ट गरिएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिएका छन् ।
पुनः मतदानमा ३६ कर्मचारी खटाइने
साउन २० गते पुन मतदान हुन लागेको चितवनको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने भएको छ । तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।
कर्मचारीको व्यवस्थापन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट हुने र निर्वाचनका लागि आवश्यक सामग्रीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालय चितवनबाट हुने जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालको भनाइ छ ।
वडा नम्बर १९ को किरण मावि किरणगञ्ज मतदान स्थलमा १ हजार २४८, जीवनज्योति स्कुल गुञ्जानगरमा १ हजार ३०६ र शारदानगर माविमा १ हजार २४३ गरी कुल ३ हजार ७९७ मतदाता छन् । जेठ १४ गते राति मतपत्र च्यातिएपछि विवादित बनेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो ।
निर्वाचनको प्रचारप्रसार गर्न नपाउने गरी तोकिएको पुनः निर्वाचनको मितिसँगै भरतपुरको निर्वाचन परिणामबारे देशभर नयाँ बहस र अनुमान सुरु भएको छ । प्रचण्डपुत्री रेणुलाई जिताउने खेल भैरहेको भन्ने जमात एकातिर छ भने एमालेले गरेको राजनीतिक खेललाई कडा जवाफ आउने टिप्पणी पनि भैरहेका छन् । चुनाव प्रचार गर्न नपाउने गरी मौन समयमा पनि भोट खरिदविक्री हुनसक्ने डरलाग्दो संकेत देखिएको छ । आखिर नेपालमा हुने गरेका निर्वाचनमा यो काम एक तितो सत्यका रुपमा रहँदै आएको छ । दुई प्रमुख राजनीतिक दलले आआफ्नो जुँगाको लडाइँ बनाइरहेको भरतपुरमा दुवै दलले साम, दाम, दण्ड, भेद सबै अपनाउने प्रतिश्पर्धामा देखिन्छन् । वडा नं १९ को मतले मेयरको परिणाम नै उलटपुलट हुने भएकाले दुई एमाले र माओवादी मौनअवधिमै आआफ्नो गणीतको खेलमा सक्रिय भैरसकेका छन् ।












