१७ साउन, काठमाडौं । सर्वर विग्रिएको वाहानामा यातायात कार्यालयमा हुने ढिलासुस्तीबारे यातायातमन्त्रीले सम्बन्धित निकायका प्रमुखसँग स्पष्टिकरण सोधेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले मंगलबार मन्त्रालयमा यातायात व्यवस्था विभाग र कार्यालयका प्रमुखलाई बोलाएर पटक पटक सर्भरमा समस्या आउनुको कारण सोध्दै समाधान खोज्न निर्देशन दिएका हुन्।
मन्त्री बलायरले भने ुप्रत्येक महिना किन बिग्रन्छ, यो सर्भर ? ‘राज्यको करोडौं लगानी परेको सर्भरमा सधैं समस्या आइरहने अनि निजी क्षेत्रमा यस्ता समस्या त सुनिँदैन, कारण के हो ?’ यो प्रश्नसहित मन्त्री बलायरले दुई दिनभित्र कार्यप्रगति र समस्याबारे जानकारी दिन सम्बन्धित विभागका उच्च अधिकारीलाई निर्देशन दिएका दिए।
बलायरले सवारी साधनको चालक अनुमति पत्र वितरण प्रक्रियालाई प्रभावकारी बनाउन समेत निर्देशन दिएका छन्।
उनले सेवाग्राहीप्रति जिम्मेवार भएर परिणाममुखी काम गर्न समेत आग्रह गरे। चर्चाका लागि काम गर्ने भन्दा पनि मन्त्रालयले दिने सेवाबाट सर्वसाधारण लाभान्वित हुनुपर्नेमा मन्त्रीले जोड दिए। उनले स्मार्टकार्ड १४ वटै अञ्चलबाट वितरण गर्ने समेत निर्देशन दिएका छन्।