१६ साउन, जाजरकोट, । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दार कमल सुनारलाई जिल्ला अदालत जाजरकोटले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीले जानकारी दिए ।
गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिका सुनारको हत्या भएको थियो । लामो समयको प्रहरी अनुसन्धानपछि हवल्दार सुनारविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत सुनारविरुद्ध गोविन्द महरको जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दाजाहेरीसहित गत फागुन २० गते जिल्ला अदालतमा दर्ता भएको थियो ।












