अर्को भदौ १२ को संज्ञा
१५ साउन, काठमाडौं । भरतपुरमा पुनः मतदान गर्न सर्वोच्च अदालतले दिएको आदेशलाई एमालेले दुर्भाग्यपूर्ण भन्दै अर्को भदौ १२ को संज्ञा दिएको छ । एमाले सचिव योगेश भट्टराईले आफ्नो फेसबुकमार्फत सर्वोच्चको आइतबारको राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरणलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।
फैसलाले नागरिक सर्वोच्चता र जनमतलाई अपमानित गरेको आरोप समेत उनको छ । उनले अदालतमाथि प्रश्न गर्दै भनेका छन् नेपाली जनताले पटक पटकको भदौ १२ लाई कहिलेसम्म सहनु पर्ने हो ?
सर्वोच्च अदालतले २०५२ सालमा गरेको फैसला एमालेलाई सत्तामा जानबाट रोक्ने फैसलाका रुपमा चर्चित छ । एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा जान गरेको निर्णयलाई सर्वोच्च अदालतले भदौ १२ गते फैसला गरी उल्ट्याइदिएको थियो । त्यही फैसला भदौ १२ को फैसलाका रुपमा चर्चित छ । सो फैसलापछि एमालेले सर्वोच्च अदालतअगाडि प्रदर्शन गरेको थियो ।
एमालेको नौ महिने सत्तारोहणमा गरेको कार्य लोकप्रिय बनेको र उसको बहुमतको सरकार बन्ने डरले भदौ १२ मा ‘नियोजित’ फैसला भएको आरोप एमालेले लगाउँदै आएको छ ।













