८ साउन, काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीले महङ्गा गाडी किन्न खोज्दा आफूले रोकेका कारण सरुवा गरेको बताउने सचिव गोपिनाथ मैनालीले नै आयोगको गाडी र आइफोन दुरुपयोग गरेको सार्वजनिक भएको छ । आयोगबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयमा गएको लामो समयसम्म पनि मैनालीले आयोगको गाडी फिर्ता नगरेकोले तत्काल फिर्ता गर्न आयोगले मैनालीलाई पत्र काटेको छ । सचिव मैनालीले आयोगको बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आइफोन सेभेन प्लस एक महिनासम्म फिर्ता नगरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको प्रशासन शाखाका उपसचिव महेशराज तिम्सिनाको नाउँबाट सचिव मैनालीलाई गाडी फिर्ता गर्न पत्र आइतबार पत्र पठाएको हो । २४ घन्टाभित्र आयोगको ल्यापटप, आइफोन लगायतका सामान फिर्ता गर्न पत्रमा भनिएको छ ।












