८ साउन, काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा निर्वाचनमा एमालेले हराउनुको कारण बारे खोजी भैरहेको छ । शनिबारदेखि जारी बैठकमा आइतबार समेत यही विषयमा छलफल भैरहेको छ । यसबाहेक मन्त्रीपरिषद्को विस्तार लगायतक देशको समसामयिक राजनीतिक अवस्थाका विषयमा समेत पार्टी नेताहरुले धारणा व्यक्त गरेका छन् ।
पार्टी सभापति शेरबहादुको अध्यक्षतामा चलिरहेको बैठकमा पार्टी नेतृत्वले गरेका विवादस्पद कामका कारण समेत निर्वाचनमा असरपरेको दावी केन्द्रीय सदस्हरुले गरेका छन् । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिले निम्त्याएको विवाद, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, राजदूत नियुक्तिलगायत प्रकरणले निर्वाचनमा पार्टी दोस्रो स्थानमा पुगेका बारेमा केन्द्रीय सदस्यले धारणा राखेको जानकारी नेता प्रदीप पौडेलले दिए । त्यसबाहेक टिकट वितरणमा भएको गुटबन्दी र अनुपयुक्त उम्मेदवारको चयन पराजको थप कारण भएको धारणा सदस्यहरुले राखिरहेका छन् ।
आगामी असोज २ गते प्रदेश नं २ मा पनि हुने निर्वाचनमा पार्टीलाई अत्यधिक तहमा विजयी बनाउने सम्बन्धमा केन्द्रित रहेर केन्द्रीय सदस्यले धारणा व्यक्त गरिरहेका छन् । पार्टी केन्द्रीय कार्यालय, सानेपामा जारी बैठकमा आवश्यक गृहकार्य गरेर उपयुक्त उम्मेदवार चयन गर्नुपर्ने, समयमै टिकट वितरण गर्नुपर्ने, प्रचारमा पार्टीका सबै संरचना प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेलगायत सुझाव आएको जनाइएको छ ।
केन्द्रीय सदस्यले प्रदेश नं २ मा हुने स्थानीय तह तथा त्यसपछि हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले गर्नुपर्ने तयारीलगायत विषयमा सुझाव दिएको नेता रामकृष्ण यादवले जानकारी दिए । सोबाहेक पार्टीको स्थिति सुधार गर्नका लागि गरिनुपर्ने सांगठनिक तयारी, निर्वाचनमा जनतामाझ लैजाने कार्यसूची तथा राष्ट्रिय राजनीतिमा पार्टीको प्रभावकारी भूमिकालगायत विषयमा बैठकमा छलफल जारी छ ।
बैठकमा पहिलो दिन वरिष्ठ नेता रामचन्द्र पौडेललगायत २० केन्द्रीय सदस्यले स्थानीय तहको निर्वाचनको समीक्षासम्बन्धी विषयमा केन्द्रित रहेर आआफ्नो धारणा राखेका थिए । आज बिहानदेखि पुनः जारी बैठकमा पुष्पा भुसाल, ईश्वरी न्यौपाने, रमेश लेखक, दिलेन्द्रप्रसाद बडू, श्याम घिमिरे, केशवकुमार बुढाथोकी, किरण यादव, वीरबहादुर बलायर र मोहन बस्नेतलगायत धारणा व्यक्त गरेका छन् ।












