छुट्टै खेलनीति ल्याउने विराटनगरका मेयरको आश्वासन छुट्टै खेलनीति ल्याउने विराटनगरका मेयरको आश्वासन
७ असार, विराटनगर । धराशायी बन्दै गएको विराटनगरको खेलकुद क्षेत्रको विकासका लागि छुट्टै खेल नीति बनाउने आश्वासन विराटनगर महानगरका मेयर भीम पराजुलीले दिएका छन् ।
नवनिर्वाचित मेयर तथा उपमेयरलाई बधाइ तथा शुभकामना दिन विराटनगरका खेलाडी, पदाधिकारी एवं प्रशिक्षक कर्मचारीहरुले आयोजना गरेको कार्यक्रममा मेयर पराजुलीले सो कुरा बताएका हुन् । विगतमा विराटनगरको खेलकुदले जुन उचाइ लिन सफल भएको थियो त्यसबाट अहिलेको अवस्था खस्कदै गएका भन्दै उनले चिन्ता व्यक्त गरे । अब महानगरले खेलक्षेत्रको विकासका लागि छुट्टै खेल नीति लिएर अघि बढ्ने बताए । क्रिकेट, फुटबल, मार्सल आर्टस, हक्की, भलिबल लगायतको अवस्था विराटगनरमा खस्कँदै गएको उनको बुझाइ थियो । मेयर पराजुली स्वयं मोरङ जिल्ला क्रिकेट संघका पदाधिकारी हुन् ।
सोही क्रममा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष रन्जन थापाले नेपाली खेलकुदमा भ्रष्ट्राचार व्याप्त रहेको बताए । मोरङमा मात्र नभएर, समग्र नेपाली खेलकुद क्षेत्रमा आर्थिक अवस्था अपारदर्शी रहेको र भ्रष्टाचार मौलाएको उल्लेख गरे । झापा बैजनाथपुरस्थित करिब १६ विगाहमा निर्माणधीन अवस्थामा रहेको स्पोर्टस कम्प्लेक्स अझ तयार हुन नसक्नु त्यसको ज्वलन्त उदाहरण भएको उनको भनाइ थियो ।
कार्यक्रममा उपमेयर इन्दिरा कार्की, नेपालको पहिलो राष्ट्रिय फुटबलका सदस्य अग्रज विष्णु बराल, नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य, भलिबलका मुख्य प्रशिक्षक वीरेन्द्र चौधरी, पूर्व राष्ट्रिय फुटबल खेलाडी किशोर शाही, कर्मचारी संघ मोरङका अध्यक्ष सागर ढुंगेल लगायतले खेलकुदको सुधारका लागि गर्नुपर्ने कार्यबारे आआफना धारणा राखेका थिए ।
-अभय राई, विराटनगर












