६ साउन, काठमाडौं । सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गर्दै भारत विहार रक्सौलको जोखियाडी निवासी दीपक ठाकुर र वीरगञ्ज महानगरपालिका– ११ श्रीपुर निवासी उमेश चौधरीलाई सार्वजनिक गरेको हो ।
प्राप्त सूचनाको आधारमा बिहीबार बेलुका रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा चालक अनुमति पत्र बनाउन प्रयोग हुने सामग्री बरामद भएकाले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।
छानबिनका क्रममा दीपक र उमेशबाट विभिन्न व्यक्तिको लाइसेन्स चार थान, होलो ग्राम स्टिकर ६ थान, विभिन्न व्यक्तिको फोटो ३८ थान, राजश्व तिरेको रसिद पाँच थान, तयार भएको नक्कली लाइसेन्स एक थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी चार थान लगायतका सामग्री बरामद भएको उपरीक्षक गिरीले बताए ।